नेप्सेको सीईओका लागि यी तीन भाई सिफारिसमा परे, देउवा सरकारले कसलाई दिंदैछ चाबी ?

  • प्रकाशित मिति : २०७८ पुष २७, मंगलवार
  • chhanbin.com

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) का ३ जनाको नाम सिफारिस गरिएको छ । नेप्सेको सीईओ नियुक्तिका लागि अर्थ मन्त्रालयका सहसचिव रमेश केसीको संयोजकत्वमा गठित सिफारिस समितिले ३ जनाको नाम सिफारिस गरेको हो ।

समितिले व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ताबाट नेप्सेको सीईओका लागि कृष्ण बहादुर कार्की, डा. केशव श्रेष्ठ र डा. रमेश कुमार भण्डारीलाई सिफारिस गरेको हो । अब यिनै तीन जनामध्येबाट एक जना नेप्सेको सीईओ नियुक्त हुनेछन् ।

समितिले यसअघि आवेदन दिएका ११ जना मध्येबाट ५ जनालाई सर्ट लिस्टिङ गरेको थियो । समितिले कृष्णबहादुर कार्की, केशवप्रसाद श्रेष्ठ, प्रविन पन्दाक, रमेश घिमिरे र रमेशकुमार भण्डारीलाई सर्टलिस्ट गरेको थियो ।५ जनाको सूचीमा परेका प्रविन पन्दाक र रमेश घिमिरे तीन जनाभित्र अटाएनन् ।

सिफारिसमा परेका तीन जनामध्ये कार्की नेकपा माओवादी निकट भनेर निचिन्छन् । उनी सिंचाइ मन्त्रालयबाट सेवानिवृत्त भएका निजामति कर्मचारी हुन् । स्रोतका अनुसार सेयर बजारका दुई वटा निकाय धितोपत्र बोर्ड र नेप्सेमा कार्यकारी प्रमुखका लागि भागबण्डा गरिएको छ । सो अनुसार नेप्से माओवादीको भागमा परेकाले अर्थमन्त्री जनार्दन शर्मासँग नजिक मानिएका कार्कीले नेप्सेको सीईओ हुने सम्भावना रहेको बताइन्छ ।

श्रीमतीको नाममा सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको आरोप लागेपछि नेप्सेका पूर्व सीईओ चन्द्रसिंह साउदले आफ्नो कार्यकाल सकिन एक महिनाअघि राजीनामा दिएका थिए । साउदले राजीनामा दिएपछि उक्त पद रिक्त छ ।