मेलम्ची नगरपालिका संग मिलेर नेशनल डाईनामिक आर्ट्सले माघे सङ्क्रान्तिमा उधुम मच्चाउने

  • प्रकाशित मिति : २०७८ पुष २७, मंगलवार
  • chhanbin.com

माघे सङ्क्रान्तिको छेको पारेर मेलम्ची नगरपालिकाको सहयोगमा नेशनल डाईनामिक आर्ट्स प्रालिले लोक नृत्य प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

पुस ३० र माघ १ गते हुने प्रतियोगितामा नगरपालिकाभित्रका २४ वटा विद्यालयबाट छात्रछात्राहरू सहभागी हुने आयोजक संस्थाका अध्यक्ष केशव कोइरालाले जानकारी दिए । परम्परादेखि स्थानीय माझी समुदायले जोगाइराखेको लोक संस्कृतिलाई निरन्तरताका लागि यो कार्यक्रम पुनर्ताजगी गरेको नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालले बताए ।

‘मेलम्ची नगरपालिकाको भौगोलिक, सांस्कृतिक, ऐतिहासिक स्थलको विशेषता प्रकाश पार्नेछ’‚ अध्यक्ष कोइरालाले कार्यक्रमको उद्देश्य प्रकाश पार्दै भने‚ ‘विभिन्न जातिको संस्कार, संस्कृति र धर्म रीतिरिवाजको ऐतिहासिक तथा सांस्कृतिक विषयको सामाजिकीकरण गर्नेछ ।’ मेलम्ची नगर युवा क्लबका अध्यक्ष सानुबाबु गिरीले हाम्रो लोक नृत्यहरूलाई निरन्तरको खातिर यो कार्यक्रमको आयोजना गरेको बताए ।

कार्यक्रममा राष्ट्रिय कलाकारहरू गायक सरोज लामिछाने‚गायिका रविना बस्याल लगायतको प्रस्तुति रहने आयोजक सस्था नेशनल डाईनामिक आर्ट्स प्रालिले जानकारी दिएको छ।