सेयर बजारले आज पनि मार्यो फड्को, कुन-कुन कम्पनी चम्किए ?

  • प्रकाशित मिति : २०७८ पुष २६, सोमबार
  • chhanbin.com

सेयर बजारमा लगातार दोहोरो अंकको वृद्धि भएको छ । आइतबार एकैदिन ७३ अंकले बढेको बजार आज पनि दोहोरो अंकले बढेको हो । गतसातादेखि उकालो लागेको बजारले आफ्नो यात्रा जारी राखेको हो । पछिल्ला ७ करोबार दिनमा नेप्से २६० बढी अंकले बढेको छ ।

बैंकिङ प्रणालीमा तरलता केही सहज भएसँगै सेयर बजारले गति लिएको हो । साथै, पछिल्लो समय कोरोना संक्रमण फैलिँदै गएसँगै लकडाउन हुने हल्लाका कारण पनि लगानीकर्ता सेयर बजारमा प्रवेश गरेको बताइएको छ ।

सूचकसँगै कारोबार रकममा झिनो बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २ करोडले बढेर ७ अर्ब बढीको कारोबार भएको छ । यो पछिल्लो डेढ महिना यताकै धेरै कारोबार हो ।

सोमबार सेयर बजार मापक सूचक नेप्से १९.४३ अंकले बढेर २७८४.९५ विन्दुमा पुगेको छ । आज २३६ कम्पनीको ७ अर्ब १२ करोड ३४ लाख २४ हजार ३५ रुपैयाँ बराबरको १ करोड ४२ लाख ८८ हजार १३० कित्ता सेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ३ समूह्को परिसूचक राताम्मे भएको छ भने १० समूहको परिसूचकमा हरियाली छाएको छ । अन्य समूह सबैभन्दा धेरै ५.४८ प्रतिशतले बढेको छ । त्यस्तै, फाइनान्स समूह पनि ३.३१ प्रतिशतले बढेको छ भने होटल समूह सबैभन्दा धेरै १.१८ प्रतिशतले घटेको छ ।

आज कारोबार भएका २३९ कम्पनीमध्ये २१८ कम्पनीको सेयर मूल्य बढेको छ भने जम्मा १३ कम्पनीको मूल्य घटेको छ । ८ कम्पनीको मूल्य भने स्थिर रहेको छ । आज गोर्खा फाइनान्स सर्वाधिक कारोबार भएको छ । यसको साढे २२ करोड बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल टेलिकमको साढे २१ करोड र एचआइडीसीएल २१ करोड बढीको कारोबार भई धेरै कारोबार हुने शीर्ष तीन कम्पनीमा रहे ।

दोहोरो अंकले बढेको बजारमा आज तीन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । मध्य भोटेकोशी जलविद्युत्को सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ । त्यस्तै, युनियन हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले पनि करिब १० प्रतिशत कमाएका छन् ।

त्यसैगरी, खानीखोला ८.२०, हिमालयन ऊर्जा ८.०५, गोर्खा फाइनान्स ७.११, रुरु जलविद्युत् ६.७८, नेशनल लाइफ ६.७२, जोशी हाइड्रोपावर ६.५८, एनएमबी ५० म्युचुअल फण्ड, नेपाल पुनर्बीमा, घलेम्दी हाइड्रोपावर, नेपाल टेलिकम, माउन्टेन इनर्जी र नेपाल हाइड्रो डेभलपरको सेयर मूल्य ५ प्रतिशभन्दा धेरैले बढेको छ । बढ्दो बजारमा आज प्रभु सेलेक्ट फण्डको सबैभन्दा धेरै ३.१७ प्रतिशत गुमाएका छन् ।