सीसीएमसीसी व्यवस्थापनको बैठक अहिले जारी, स्कूलको जाडो बिदा लम्बिने

  • प्रकाशित मिति : २०७८ पुष २५, आईतवार
  • chhanbin.com

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) व्यवस्थापनको बैठक अहिले जारी छ । बैठकमा नेपालमा ओमिक्रनको संक्रमण दर बढिरहेकोले शैक्षिक संस्था सञ्चालनबारे छलफल चलिरहेको प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।

“१८ वर्षमुनिका सम्पूर्ण विद्यार्थीलाई खोप दिन सकिएको छैन । त्यसैले विद्यालयलाई ध्यानमा राखेर एउटा निर्णय आउँदैछ,” उनले भनिन् ।
जाडो महिनामा यसै पनि बिदा दिने पुरानै चलन छ । कोभिडको जोखिमलाई मध्यनजर १५ दिनदेखि १ महिनासम्म बिदा लम्ब्याउने विकल्पमा छलफल भएको उनको भनाइ छ । “तर, यो व्यवस्थापनतर्फको बैठक हो,” उनले थपिन्, “निर्देशकको बैठक भएको भए सिधै निर्देशन आउँथ्यो होला । व्यवस्थापनको बैठक भएकाले निर्णय मन्त्रिपरिषद्बाट स्वीकृत गराउनुपर्ने हुँदा एक दुई दिन लाग्न पनि सक्छ ।”

अधिकांश विद्यालयमा आन्तरिक परीक्षा सकाएर जाडोको बिदा दिन सुरु भएको छ । प्रायः पुसको मसान्तबाट विद्यालयहरू कम्तीमा दुई साता बन्द हुने चलन छ । क्याम्पसमा भने एक महिनाका जाडो बिदा दिने चलन छ । त्रिभुवन विश्वविद्यालयमा माघ १० गतेसम्म बिदा दिइएको छ भने अन्य विश्वविद्यालय र आंगिक क्याम्पसमा पनि जाडो बिदा सुरु भइसकेको छ ।