आधा दर्जन जिल्लामा फेरी सिडिओ फेरिए, कसलाई कहाँ पठाईयो ?

  • प्रकाशित मिति : २०७८ पुष २४, शनिबार
  • chhanbin.com

गृह मन्त्रालयले थप आधा दर्जन जिल्लामा प्रमुख जिल्ला अधिकारी(प्रजिअ) परिवर्तन गरेको छ । जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु बास्तोला गृह मन्त्रालयमा सरुवा भएका छन् भने धनुषामा लगानी बोर्ड हुँदै शुक्रवार गृह प्रवेश गरेका सुरेन्द्र पौडेललाई पठाइएको छ । यसअघि बाराको प्रजिअ हुँदा गृहबाटै बाहिर पठाइएका पौडेल पुनः गृह भित्र्याएर सिडिओमा खटाउनुलाई गृह वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

यसैगरी मन्त्रालयकी सहसचिव हुमकला पाण्डेलाई काभ्रे प्रजिअको जिम्मेवारी दिइएको छ भने काभ्रेका शिवराम पोखरेललाई मन्त्रालय तानिएको छ । मन्त्रालयले सल्यानका प्रजिअ लक्ष्मी देवी होमागाई खतिवडालाई मन्त्रालय सरुवा गरेर त्यहाँ सहसचिव विपिन आचार्यलाई खटाईको छ ।

कालिकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यलाई मन्त्रालय झिकाउँदै उपसचिव रामहरि शर्मालाई कालिकोटको प्रजिअको जिम्मेवारी दिई पठाइएको छ । त्यस्तै सहसचिव सुमन घिमिरेलाई नवलपरासी(पूर्व)को प्रजिअ बनाई पठाइएको छ । त्यहाँकी मनमाया पङ्गेनी भट्टराई केही दिन अघि झिकेर गण्डकी प्रदेश पठाइएको थियो ।