संघीय मामिला मन्त्रालयले जनप्रनिधिहरूलाई संघीयताको विषयमा तालिम दिने नाममा छुट्टै प्रशिक्षण प्रतिष्ठान खोल्ने तयारी गरेको छ।
सरकारी कर्मचारीलाई प्रशिक्षण दिन संघीय मातहतमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) हाल सञ्चालनमा छ। तर मन्त्रालयले संघीयताको बारेमा प्रशिक्षण दिन भन्दै अर्को प्रशिक्षण प्रतिष्ठान खोल्ने तयारी गरेको छ।
मन्त्रालय स्रोतका अनुसार जनप्रतिनिधिहरूलाई संघीयताको विषयमा तालिम दिने उद्धेश्यले संघीय मामिला प्रशिक्षण प्रतिष्ठान खोल्ने तयारी भएको छ। यसका लागि कानुनको मस्यौदा समेत तयार भएको मन्त्रालय स्रोतको भनाइ छ। तर विज्ञहरू भने अर्को प्रशिक्षण प्रतिष्ठान खोल्नुभन्दा स्टाफ कलेजलाई नै त्यस काममा प्रयोग गर्नु उपयुक्त हुने सल्लाह दिएका छन्। स्टाफ कलेजले हाल विभिन्न तहमा सरकारी कर्मचारीहरूलाई विभिन्न विषयमा तालिम दिँदै आएको छ।
मन्त्रालय स्रोतका अनुसार सरकारले खोल्ने प्रशिक्षण प्रतिष्ठानमा संघीयता कार्यान्वयन तथा तीन तहका सरकारबीच भएको अन्तरसम्बन्धका विभिन्न विषयमा अध्ययन गर्ने उद्धेश्यले प्रशिक्षण प्रतिष्ठान खोल्ने मन्त्रालयको तयारी हो। संघीय मामिलामन्त्री राजेन्द्र श्रेष्ठको इच्छामा यस्तो प्रशिक्षण प्रतिष्ठान खोल्न लागिएको मन्त्रालयका एक कर्मचारीले बताए।