संविधानका विरुद्ध अहिले पनि पाप गरिरहेका छन् भन्दै ओलीले क-कसलाई गरे अलच्छिन करार ?

  • प्रकाशित मिति : २०७८ पुष २३, शुक्रबार
  • chhanbin.com

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेतृत्वको वर्तमान सरकार पूरै असफल भएको आरोप लगाएका छन् । नेकपा एमाले काभ्रेको १० औं जिल्ला अधिवेशन उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री ओलीले सरकारले राज्यको तीनवटै अंग बर्बाद् पारेको आरोप लगाए ।

‘अमेरिकाबाट श्रीमान इमेल गर्छन्, अरु श्रीमानहरू इमेल वाचन गरिनसक्दै, सुन्न नसक्नुभएपछि खोस, खोस भनेर च्यातेर फाल्छन् । अदालतमा प्रधानन्यायाधीश छिर्न दिँदैनन्, वरिष्ठ कानुन व्यवसायी अदालतमा नै हानहान गर्छन्, न्यायधीशहरू हड्ताल गर्छन्, इजलास बहिष्कार गर्छन्, सरकार यस्तो, अदालत यस्तो, संसद्‍ यस्तो छ । राज्यको तीनवटै अंग बर्बाद पारे,’ उनले भने, ‘जनादेशमार्फत् नेकपा एमालेले त्यस्ता तत्वलाई पराजित गरेर देशमा सुशासनयुक्त विकासको अभियान, सामाजिक न्यायको अभियान चलाउनुपर्छ ।’

दुई पार्टीको बैसाखीमा टेकेको सरकार पूरै असफल भइसकेको भन्दै उनले बैंकमा आफूले राखेको पैसासमेत फिर्ता दिन नसक्ने स्थितिमा पुगेको आरोप लगाए । ‘आफूले बैंकमा राखेको पैसा पनि फिर्ता दिन नसक्ने पनि सरकार हुन्छ ! अस्ति बैंकमा पैसा लिन जाँदा बरु मेरो रगत लिनुस्, पैसा दिन सकिँदैन भने रे,’ ओलीले ५ दलीय गठबन्धनलाई लक्षित गर्दै भने, ‘एक अलच्छिन पसे त बर्बाद हुन्छ, ५/५ वटा अलच्छिन एक ठाउँमा भएपछि के हुन्छ ! मन्त्री भेटिएला कि भनेर मान्छे तर्केर हिँड्ने अवस्था छ ।’ सेटिङ, परमादेशबाट बनेको सरकार जनताप्रति उत्तरदायी नभएको उनले आरोप लगाए ।

यस्तै नेता ओली सभामुख अग्निप्रसाद सापकोटाप्रति निकै आक्रामक देखिएका थिए । सभामुख सापकोटाको उनले कडा शब्दमा आलोचना गरे । सापकोटालाई लक्षित गर्दै ओलीले पार्टी फुटाउने षड्यन्त्रमा सहभागी बनेको आरोप लगाएका थिए ।

उनले भने ‘काभ्रेली जनतालाई सभामुखको बारेमा मैले भनिरहनुपर्दैन, म नलिऔं, फेरि यहाँ कुल्ला गर्ने पानी छैन,’ उनले भने, ‘निष्पक्षता छैन, सभामुख पदको मर्यादा, गरिमा छैन, प्रतिपक्षका विरुद्ध, देशको प्रमुख पार्टीको विरुद्ध नांगो नाच गरेर, पार्टी फुटाउने षडयन्त्रमा सहभागी भएर लोकतन्त्रका विरुद्ध, संविधानका विरुद्ध अहिले पनि पाप गरिरहेका छन् ।’