सीसीएमसीको बैठक सकियो, विद्यालयको बिदा लम्ब्याउने र स्मार्ट लकडाउनसम्म जान सकिने

  • प्रकाशित मिति : २०७८ पुष २३, शुक्रबार
  • chhanbin.com

कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठकले पछिल्लो समय देखिएको कोभिड संक्रमण केन्द्रित छलफल गरेको छ । सिंहदरबारमा बसेको बैठकले तत्काल नाकालाई चुस्त बनाउने विषयमा छलफल भएको स्वास्थ्य मन्त्री विरोध खतिवडाले जानकारी दिए ।

“ओमिक्रोन बढ्दैछ,” उनले भने, “नाकालाई कसरी चुस्त बनाउने भन्ने विषयमा छलफल भयो । प्रधानमन्त्रीबाट पनि निर्देशन आएको छ । भारतबाट आउनेलाई अहिले स्थानीय तहको समन्वयमा होल्डिङ सेन्टरमा राख्ने तयारी भएको छ ।”

कोरोना संक्रमण बढेको अवस्थामा स्मार्ट लकडाउनसम्म जान सकिने बारेमा पनि छलफल भएको उनले बताए ।तर अहिले तत्कालै कुनै त्यस्तो निर्णय गर्ने अवस्था नरहेको बताए । “निश्चित ठाउँमा हामीले केही कडाइ गर्न सक्छौँ,” उनले भने, “तर पहिलेजस्तो लकडाउन गर्ने अवस्था हुँदैन । भीड कम हुने क्षेत्रलाई पहिले कडाइ गर्नुपर्ने अवस्था आउन सक्छ ।”

उनले विद्यालयको बिदा लम्ब्याउने हो कि भन्ने विषयमा पनि कुराकानी भएको बताए । तर विभिन्न विकल्पमा छलफल गरेर अर्को बैठकमा यसबारेमा निर्णय गरिने उनले बताए ।