नेप्से आज उच्च अंकले लयमा फर्केपछि यी १५ कम्पनीका लगानीकर्ताको भयो चाँदी कटाई

  • प्रकाशित मिति : २०७८ पुष २२, बिहीबार
  • chhanbin.com

सेयर बजारमा दोहोरो अंकको कमब्याक भएको छ । बुधबार ३० अंकले करेक्शन भएको नेप्से आज उच्च अंकले लयमा फर्केको हो । यससाता समग्रमा नेप्से १६९ अंकले बढेको छ ।

सूचकमा उच्च अंकको बढोत्तरी आए पनि आज कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम झन्डै १ अर्बले घटेर साढे ३ अर्बमा सीमित भएको छ ।

बिहीबार सेयर बजार मापक सूचक नेप्से ४३.२९ अंकले बढेर २६९२.४७ विन्दुमा पुगेको छ । आज २३८ कम्पनीको ३ अर्ब ६७ करोड ६८ लाख ४६ हजार ३४९ रुपैयाँ बराबरको ७३ लाख ३६ हजार ३३४ कित्ता सेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये उत्पादनमूलक र व्यापार समूह बाहेक बाँकी सबै समूहको परिसूचकमा हरियाली छाएको छ । होटल समूह सबैभन्दा धेरै ३.४८ प्रतिशतले बढेको छ । त्यस्तै, हाइड्रोपावर र निर्जीवन बीमा समूह पनि २ प्रतिशतले बढेको छ ।

आज कारोबार भएका २३८ कम्पनीमध्ये १९० कम्पनीको सेयर मूल्य बढेको छ भने ३५ कम्पनीको घटेको छ । १३ कम्पनीको मूल्य भने स्थिर रहेको छ । आज अपी पावरको सर्वाधिक कारोबार भएको छ । यसको १६ करोड बढीको सेयर किनबेच भएको छ । त्यस्तै, एनआइसी एशिया बैंकको १४ करोड र नेशनल माइक्रोफाइनान्सको १० करोड बढीको कारोबार भई धेरै कारोबार हुने शीर्ष तीन कम्पनीमा रहे ।

उच्च अंकले बढेको बजारमा आज तीन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नेपाल फाइनान्स र तेह्रथुम पावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने मध्य भोटेकोशी जलविद्युत्का लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् ।

त्यसैगरी, राष्ट्रिय बीमा कम्पनी र मैलुङ खोला जलविद्युत्को सेयर मूल्य साढ ५ प्रतिशतले बढेको छ । त्यस्तै, स्वरोजगार लघुवित्त, सेञ्चुरी कमर्शियल बैंक, एनआइसी एशिया बैंक र माउन्टेन इनर्जीको मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेको छ । चन्द्रागिरि हिल्स, युनाइटेड इदी मार्दी, साहस ऊर्जा, फर्स्ट माइक्रोफाइनान्स, हिमालयन पावर, सिनर्जी पावर र नेपाल एसबीआइ बैंकको मूल्य पनि साढे ४ प्रतिशतभन्दा धेरैले बढेको छ । बढ्दो बजारमा आज नेपाल बंगलादेश बैंकका डिबेञ्चरधनीले सबैभन्दा धेरै ३.५३ प्रतिशत गुमाएका छन् ।