देउवालाई झेल्न बसेरामा शेखर समूहले बनायो यस्तो रणनीति, पेल्न खोजे नपेलिने सितिमिती

  • प्रकाशित मिति : २०७८ पुष २२, बिहीबार
  • chhanbin.com

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा संस्थापन समूहसँग प्रतिस्पर्धा गरेको डा. शेखर कोइराला समूहले दुई दिनयता सक्रियता बढाएको छ। मंगलबार अनुपम फुडल्यान्डमा समूहका ‘अगुवा’को भेला गरेका कोइराला समूहले बुधबार सिंहदरबार नजिकैको बसेरा होटलमा आफ्नो समूहबाट १४औँ महाधिवेशनमा उम्मेदवार बनेका नेताहरूसँग छलफल गरेको हो।

यी दुवै भेलामा छलफलको मुख्य विषय थियो- देउवाविरुद्ध रणनीति निर्माण गर्नु। यसलाई शेखर समूहले भने ‘महाधिवेशनको समीक्षा’ ट्याग दिएको छ। दुवै भेलामा शेखर समूहले अबको रणनीतिका विषयमा समेत छलफल गरेको थियो। यो समूहले अब ‘पार्टीमा भाग खोज्ने’ र ‘पेल्न खोजे प्रतिवाद गर्ने’ रणनीति बनाएको छ। यी दुवै पदावली शेखर समूहले प्रयोग नगरेपनि त्यसको भाव भने यो भन्दा फरक छैन।

आफ्नो प्रतिबद्धता विपरीत समूहको बैठक बोलाएर डा कोइरालाले देउवाविरुद्धको रणनीति तय गरेका हुन्। १४औँ महाधिवेशनसँगै गुट सकिने बताएका डा कोइरालाले समूहको बैठक बोलाएर आफ्नो गुट सक्रिय हुने सन्देश प्रवाह गरेका हुन्। सोही समूहबाट महामन्त्रीमा विजयी भएका गगनकुमार थापाले पनि महाधिवेशनपछि कुनै पनि विचार समूहले गुटको छुट्टै भेला गर्न नहुने बताएका थिए। यद्यपि महाधिवेशनपछि मत परिणाम आएको १५ दिन नबित्दै शेखर समूहले गुटको अभ्यास थालेको हो।

सभापतिका लागि भएको दोस्रो चरणको मतगणनामा देउवाले २७३३ मत ल्याएर विजयी हुँदा कोइरालाले १८५५ मत ल्याएका थिए। सभापति देउवाले नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै आफू वडादेखि केन्द्रसम्म नेपाली कांग्रेसमा आबद्ध सबैको सभापति भएको र सबैलाई समेटेर, निष्पक्ष रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। तर यसमा देउवाको बोली र व्यवहार फरक परेको शेखर समूहको बुझाइ छ। विशेषगरी वरीयता, केन्द्रीय समितिमा मनोनयन, बागमती प्रदेशमा मन्त्री छनोट र राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार चयनका विषयमा शेखर समूह संस्थापन समूहसँग रुष्ट बनेको हो।

केन्द्रीय कार्यसमितिको पहिलो बैठकअघि सभापति देउवाले नेताहरुको वरीयता तोके। सभापतिमा दोस्रो मत पाएका कोइरालालाई २०औं वरीयतामा राखेपछि उनीनिकट नेताहरु रुष्ट भए। यद्यपि शेखरले भने आफ्नो वरीयता पार्टी कार्यकर्ताले दिएको भोटबाटै कायम भएको प्रतिक्रिया दिएका थिए।

विशेषगरी वरीयता, केन्द्रीय समितिमा मनोनयन, बागमती प्रदेशमा मन्त्री छनोट र राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार चयनका विषयमा शेखर समूह संस्थापन समूहसँग रुष्ट बनेको हो। बुधबार बसेको शेखर समूहको बैठकपछि सहभागी नेपाल तरुण दलका पूर्वमहासचिव भूपेन्द्रजंग शाहीले वरीयताका विषयमा पनि आपत्ति जनाइएको बताए। उनले भने, ‘बैठकमा महाधिवेशनमा पराजय भएको विषयमा समीक्षा भयो। त्यसैगरी शेखरलाई तोकिएको वरीयताको विषयमा आपत्ति जनाइएको छ। अहिलेको वरीयताले १९०० मतदाताको निराश बनाउने काम भएको बैठकमा नेताहरुले बताउनु भएको छ।’

सभापति देउवाले दुई पटक गरेर १३ जना केन्द्रीय सदस्य मनोनित गर्दा पनि रामचन्द्र पौडेलबाहेक सबै आफूलाई मत दिनेलाई मात्र मनोनित गरेको शेखर समूहको आरोप छ। कांग्रेस विधानले सभापतिलाई ३३ जना केन्द्रीय सदस्य मनोनित गर्ने अधिकार दिएको छ। आफ्नो समूहका नेताहरुलाई मनोनित नगरेकोप्रति पनि शेखर समूहले आपत्ति जनाएको छ। शेखरले जारी गरेको चार बुँदे वक्तव्यमा नै निष्ठावान नेताहरुलाई मनोनित गरिएकोप्रति आपत्ति जनाइएको छ।

बुधबारको बैठकमा पनि पार्टी नेतृत्व विधि विपरीत चल्‍न खोजेकोले ट्र्याकमा ल्याउन बाध्य पार्ने विषयमा छलफल भएको बैठकमा सहभागी केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले बताए। देउवाले आइतबार सत्तारुढ गठबन्धनका नेताहरुसँग छलफल गरेर राष्ट्रियसभा सदस्यको सिट बाँडफाँट गरे। रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई बोलाएका देउवाले डा. शेखरलाई सम्झिएनन्। सोमबार केन्द्रीय कार्यसमितिबाट उम्मेदवार चयन गर्दा पनि उनले शेखरको साटो पौडेलसँग परामर्श गरेका थिए।