भित्र देउवाले चुनाव सम्मै गठबन्धन गर्ने भन्दा गगनले बाहिरबाट भने- कांग्रेसले गठबन्धन गर्दैन

  • प्रकाशित मिति : २०७८ पुष २१, बुधबार
  • chhanbin.com

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनमा गठबन्धन सरकारले आपसी तालमेल गर्दै जाने बताएका छन्। सिंहदरबारमा बुधबार मन्त्री र सचिवसँगको छलफलमा निर्वाचन निष्पक्ष हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री देउवाले यस्तो धारणा व्यक्त गरेका हुन्।

‘निर्वाचन आयोगले निर्वाचनको तयारी गरिराखेको छ। निर्वाचनको सम्बन्धमा हामीले आयोगलाई सक्दो सहयोग गर्नुपर्छ। निष्पक्ष निर्वाचन होस् भन्ने हाम्रो चाहना रहेको छ’, प्रधानमन्त्री देउवाले भने, ‘निर्वाचनमा गठबन्धनको सरकारले आपसी तालमेल गर्दै जानेछौं।’ देउवाले सरकारको न्यूनतम साझा कार्यक्रम कार्यान्वयन गर्न निर्देशन दिएका थिए।

न्यूनतम साझा कार्यक्रमको कार्यन्वयनका साथै, विकासमा प्राथमिकता र सुशासन प्रवर्द्वनका विषयमा प्रधानमन्त्रीले निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। उनले भने, ‘सरकारको न्यूनतम साझा कार्यक्रम, विकासका प्राथमिकता र सुशासन प्रवर्द्धनमा ध्यान केन्द्रित गर्नुहोस्।’

यता नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माघ १२ गतेको राष्ट्रियसभा सदस्य निर्वाचनपछि अरु राजनीतिक दलसँग चुनावी गठबन्धन नहुने बताएका छन् । बुधबार शेखर कोइराला समूहका नेताहरुको छलफलपछि पत्रकारहरुसँग महामन्त्री थापाले सरकारमा गठबन्धन कायमै रहे पनि राष्ट्रियसभा निर्वाचनपछि चुनावी गठबन्धन सकिने दावी गरेका हुन् । ‘तीनै तहको चुनावमा काङ्ग्रेस एक्लै प्रतिस्पर्धा गर्छ । चुनावी गठबन्धन हुदैन’ उनले भने ।

महामन्त्री थापाले पार्टी विधि र विधानअनुसार चल्नुपर्नेमा प्रारम्भिक संकेत राम्रो नदेखिएको बताए । ‘सभापतिज्यूले सबैलाई समेटेर लैजाने र विधिको पालना गर्ने कुरो बोल्नुभएको थियो, त्यो पालना भएन’ उनले भने । पार्टीको संसदीय बोर्ड गठन गरेर बोर्डमार्फत नै राष्ट्रियसभा सदस्य उम्मेदवार चयन गर्नुपर्नेमा केन्द्रीय समितिबाट नाम चयन गर्नु विधान विपरीत हुने पनि थापाले बताए । आफूले सभापति शेरबहादुर देउवालाई यो कुरा सम्झए पनि बेवास्ता गरेको उनले बताए ।

थापाले शेखर कोइरालालाई बेवास्ता गरेर पार्टी नचल्ने पनि बताए । गगनले सिंहदरबारको मुखैमा रहेको बसेर होटलमा यस्तो कुरा बताएका हुन्।