कांग्रेसले गठबन्धन तोडेर चुनाव लड्नुपर्छ भन्दै शेखर समुहले देउवालाई यसरी झक्झक्यायो

  • प्रकाशित मिति : २०७८ पुष २१, बुधबार
  • chhanbin.com

नेपाली कांग्रेसको संस्थापन इतर पक्ष आउँदो स्थानीय तह र प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेस एक्लै लड्नुपर्नेमा एकमत देखिएको छ। संस्थापन इतरका नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापा यही अडानमा कायम छन्।

बुधबार संस्थापन इतरको समीक्षा बैठकलाई सम्बोधन गर्ने क्रममा कोइरालाले कांग्रेस एक्लै चुनावमा जानुपर्ने बताएका छन्। उनले भने, ‘आगामी निर्वाचनमा गठबन्धन हुँदैन । कांग्रेस एक्लै चुनाव लड्नुपर्ने कुरामा हामी अडिग छौं।’

यसैगरी महामन्त्री थापाले समीक्षा बैठककै क्रममा डा कोइरालाकै भनाइमा जोड दिएका छन्। उनले पार्टीले एक्लै चुनावमा जाने वातावरण बनाउने चाहना समेत व्यक्त गरेका छन्। उनले बैठकमा भने, ‘चुनावसम्म सरकारको गठबन्धन रहन्छ, तर चुनाव कांग्रेस एक्लै लड्छ। पार्टीले त्यो वातावरण बनाओस्।’

उपसभापति गुरुङले यसअघि नै कांग्रेस तन्दुरुस्त भएका कारण गठबन्धनको वैशाखी टेक्न नहुने धारणा राखेका थिए। उनले भनेका थिए, ‘नेपाली कांग्रेसका दुवै खुट्टा सवल छन्। कुनै पनि खुट्टा भाँच्चिएका छैनन्। खुट्टा भाँच्चिएको भए पो वैशाखीको सहारा लिने हो। दुवै खुट्टा तन्दुरुस्त हुनेले त एक्लै दौडिने हो। दुवै खुट्टा सद्दे हुँदाहुँदै नाटक गरेर वैशाखी टेकेर हिँड्न खोजियो भने त्यो मान्छेलाई अरुले उछिन्ने निश्चित छ।’

कांग्रेस सभापति शेरबहादुर देउवा भने गठबन्धन निर्वाचनसम्मै जानसक्ने संकेत गरिरहेका छन्। उनले पुस ११ गते नेकपा माओवादी केन्द्रको महाधिवेशन उद्घाटनका क्रममा गठबन्धन निर्वाचनसम्मै जाओस् भन्ने आफ्नो चाहना रहेको बताएका थिए।