अत्याधिक चिसोका कारण १ सय २९ विद्यालय बन्द गरियो

  • प्रकाशित मिति : २०७८ पुष २०, मंगलवार
  • chhanbin.com

अत्याधिक चिसोका कारण हुम्लामा रहेका निजी तथा सामुदायिक विद्यालयहरु बन्द गरिएको छ। हिमपातका कारण चिसो बढेसंगै हुम्लाका विद्यालयहरु बन्द गरिएका हुन्।

विद्यार्थी चिसो र बाटोमा जमेको हिउँले विद्यालय आउन नसक्ने भएकाले हरेक वर्ष विद्यालय बन्द गर्ने गरिन्छ। सात वटा स्थानीय तह रहेका हुम्लामा हरेक वर्षको पुष र माघ महिना स्थानीय तहले नै बन्द गर्ने गरेको छ। सिमकोट, नाम्खा, खार्पुनाथ, सर्केगाड, अदानचुली र ताँजकोट गाउँपालिकाले विद्यालय बन्द गरेका हुन्।

हिउँ तथा चिसोले अति प्रभावित ६ वटा पालिकाका १ सय २९ विद्यालय अहिले बन्द गरेकाेका छन्। तल्लोभागमा रहेको चंखेली गाउँपालिकाका २२ विद्यालय सञ्चालनमा रहेको शिक्षा विकास तथा समन्वय इकाई हुम्लाका समन्वय इकाई प्रमुख तिलक प्रसाद भट्टराइले बताए। हुम्लामा जम्मा १ सय ५१ सामुदायिक विद्यालयहरु रहेका छन्।

‘गाउँ पालिकाले निर्णय गरेर नै चिसो समयमा सामुदायकि विद्यालयहरुलाई विदा दिने निर्णय गरेको छ।’ शिक्षा विकास तथा समन्वय इकाई भट्टराइले भने, ६ पालिकाका विद्यालयमा विदा भएपनि चंखेली गाउँपालिकाभित्र रहेका विद्यालय सञ्चालन भईरहेको छ।’

यहाँका पालिकाले प्राय पुष १५ गतेपछि विद्यालय बन्द गरेका हुन्। चिसोले घरबाहिर निस्कन गाह्रो हुने भएकाले पालिकामा रहेका विद्यालयलाई विदा दिने गरिएको सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले बताए।