देउवाले पेलेपछि शेखरले बोलाएको गुटको बैठकमा को-को पुगे ?

  • प्रकाशित मिति : २०७८ पुष २०, मंगलवार
  • chhanbin.com

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको बैठक बत्तीस पुतलीस्थित अनुपम फुडल्यान्डमा जारी छ। पार्टीको १४औं महाधिवेशनमा सभापति पदमा पराजित भएपछि कोइरालाले पहिलो पटक आफू निकट नेताहरुसँग छलफल गरिरहेका हुन्।

छलफलमा कोइरालाको समूहबाट पदाधिकारी लडेका नेताहरु उपस्थित छन्। उपसभापति धनराज गुरूङ, उपसभापतिमा पराजित चन्द्र भण्डारी, महामन्त्री गगन थापा, महामन्त्रीमा पराजित मिनेन्द्र रिजालका साथै केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी र बलबहादुर केसी पनि बैठकमा सहभागी भएको उक्त समूहका एक नेताले जानकारी दिएका छन्।

सभापति शेरबहादुर देउवाललाई नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित)ले ३३ जना मनोनयन गर्ने अधिकार दिएको छ। अहिलेसम्म देउवाले १३ जना केन्द्रीय सदस्यमा मनोनयन गरिसकेका छन्। तर उपसभापति र महामन्त्रीमा पराजित भएका शेखर पक्षका नेतालाई देउवाले केन्द्रीय समितिमा मनोनयन गरेका छैनन्।

शेखर समूहका नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित नगरेको भन्दै देउवाको आलोचना भइरहेको छ। यही अवस्थामा शेखरले आफू निकट नेताहरुसँग छलफल गरेका छन्। शेखर समूहले सभापति देउवासँग भाग नखोज्ने तर सबैलाई समेटेर अघि बढ्नुपर्ने बताइरहेको छ। तर कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले भने कुनै बैठक आयोजना नगरिएको फेसबुकमा स्टाटस लेखेका थिए।

‘केन्द्रीय समिति सदस्य एकलौटी ढंगले मनोनयन गर्नु र राष्ट्रियसभा सदस्यको उम्मेदवार चयन प्रक्रियामा आफूहरूसँग सामान्य छलफलसमेत नगरी अघि बढ्नुको संकेत शुभ नरहेको निष्कर्ष  बैठकले निकालेको नेता अर्जुननरसिंह केसीले जानकारी दिए ।

केन्द्रीय समिति सदस्य एकलौटी रूपमा मनोनीत गर्नु र राष्ट्रियसभाको उम्मेदवार तय गर्दा पनि सामान्य छलफल नगर्नुले हामी सशंकित छौँ । सभापतिले अनपाएका प्रक्रियामा हामी सन्तुष्ट छैनौँ,’ नेता केसीले भने ।

पार्टीभित्र एकता कायम गरेर अघि बढ्नुपर्नेमा देउवा एकलौटी ढंगले अघि बढेको कोइराला समूहको निष्कर्ष छ । ‘हामी सभापति देउवालाई सघाउन तयार छौँ । तर, उहाँ एक्लै अघि बढ्छु भनेर हिँड्नु शुभ संकेत होइन,’ नेता केसीले भने ।

कांग्रेसभित्र देउवाले एकल निर्णय लिँदै अघि बढ्न थालेपछि थप रणनीति बनाउनका कोइराला समूहले बुधबार दिउँसो दुई  बजे फेरि छलफल गर्ने भएको छ ।