राष्ट्रियसभाको निर्वाचनमा गण्डकीबाट एमालेका यी तीन जनाले उम्मेदवारी दर्ता गराए

  • प्रकाशित मिति : २०७८ पुष २०, मंगलवार
  • chhanbin.com

राष्ट्रिय सभाको निर्वाचनमा गण्डकीबाट एमालेका तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । माघ १२ गते हुने निर्वाचनमा गण्डकीबाट एमालेबाट पुण्यप्रसाद पौडेल, लिला पोखरेल थनेत र अर्जुनकुमार सुनामले उम्मेदवारी दर्ता गराएका हुन् । पौडेलले अन्य समूहबाट, थनेतले महिला कोटाबाट र सुनामले दलित कोटाबाट मंगलबार उम्मेदवारी दर्ता गराएका हुन् ।

यही माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । राष्ट्रिय सभामा ५९ सदस्य रहने व्यवस्था छ भने ती सदस्यको कार्यकाल ६ वर्षको हुन्छ । तर, पहिलो एक कार्यकालका लागि गोलाप्रथाबाट सदस्यहरूको पदावधि निर्धारण गरिएको थियो । त्यसमध्ये पहिला दुई वर्षमै १९ जनाको पदावधि सकिएर निर्वाचन भइसकेको छ ।

यसपटक २० जनाको पदावधि सकिँदैछ । दुई वर्षपछि अन्य २० जनाको पदावधि सकिनेछ । राष्ट्रिय सभामा जुन पद खाली हुन्छ, त्यही पदका लागि सम्बन्धित निर्वाचन क्षेत्रमा मात्रै निर्वाचन हुने व्यवस्था छ । त्यसअनुसार यस पटक सातै प्रदेशमा एक महिला, १ अन्य गरी २–२ जना, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशबाट दलित १–१ जना, प्रदेश १ र कर्णाली प्रदेशबाट अपांगता वा अल्पसंख्यक भएका १–१ जनाका लागि निर्वाचन हुँदै छ ।