देउवाले आफु पछिको वरियता रामचन्द्रलाई दिए, शेखर २० बाट धकेलिएर २६ औं मा पुर्याईए

  • प्रकाशित मिति : २०७८ पुष १९, सोमबार
  • chhanbin.com

कांग्रेसमा नेता रामचन्द्र पौडेलले सभापतिपछिको वरियता पाएका छन् । १४ औं महाधिवेशनको प्रक्रियामा सहभागी नै नभएका पौडेलले सभापति शेरबहादुर देउवापछिको वरियता पाएका हुन् ।

गत शनिबार केन्द्रीय सदस्यमा मनोनित भएका नेता पौडेललालाई सोमबार बसेको पदाधिकारी बैठकमा देउवाले आफूपछिको वरियता दिएका हुन् । कांग्रेसमा यसअघि पदाधिकारी, पूर्व पदाधिकारीपछि महाधिवेशनमा सभापतिमा निकटतम प्रतिद्वन्द्वी भएका डा. शेखर कोइराला २० औं वरियतामा थिए ।

तर, पौडेलसहितका पूर्व पदाधिकारीलाई वरियता निर्धारण गर्दा शेखरको वरियता झन् खस्किएको छ । वरियतामा पदाधिकारी, पूर्व पदाधिकारीपछि मात्रै डा. कोइराला हुने भएका छन् । शनिबार देउवाले पदाधिकारीमा हारेका केन्द्रीय सदस्यलाई मनोनित गर्दा शेखर कोइराला २० बाट २६ औं नम्बरमा पुगेका हुन् ।

वरियतामा सभापति देउवा, रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ छन् । त्यसपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा वरियतामा पाँचौं र छैठौंमा छन् ।

त्यसपछि सातौदेखि १४ औंसम्म सह–महामन्त्रीमा क्रमशः फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय डिना, भीष्मराज आङदेम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्रि पाण्डे र जीवन परियार छन् ।

त्यसपछि गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, डा शशांक कोइराला, कृष्णप्रसाद सिटौला, चित्रलेखा यादव, डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा. प्रकाशशरण महत र सुनिलबहादुर थापा २५ औं वरियतामा छन् ।

त्यसपछि सभापतिमा पराजित भएका डा. शेखर कोइरालाको वरियता रहेको कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए । १३ औं महाधिवेशनपछि डा। कोइराला ३५ औं वरियतामा थिए । तर, सभापतिसँग पराजित हुने निकटतम प्रतिद्वन्द्वीलाई सभापतिपछि वरियता दिने प्रचलन भए पनि शेखरलाई पछाडि पारिएकोप्रति कोइराला टिममा तीव्र असन्तुष्टि छ ।