माओवादीका दर्जन दम्पत्ति माथि प्रचण्डको तजबिजी अधिकार एकाएक सलल यसरी पोखियो

  • प्रकाशित मिति : २०७८ पुष १९, सोमबार
  • chhanbin.com

नेकपा माओवादी केन्द्रका १२ दम्पती केन्द्रीय कमिटीमा चयन भएका छन्। आइतबार सम्पन्न महाधिवेशन हलबाट १२ दम्पती केन्द्रीय सदस्यमा सर्वसम्मत भएका हुन्। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिका आधारमा भन्दै २ सय ३६ जनालाई केन्द्रीय सदस्यका रुपमा चयन गर्न प्रस्ताव गर्दा १२ दम्पती चयन भएका हुन्।

माओवादीका शक्तिशाली नेताहरू खुला क्लस्टरमा चयन हुँदा केही नेताका पत्नीहरूलाई भने आरक्षणको प्राथमिकतामा राखिएको छ। अधिकांश नेताका पत्नीहरूले आरक्षण सुविधा उपभोग गरेका हुन्। पछि पारिएका क्षेत्र/वर्ग/समुदायलाई समेट्नका लागि विभिन्न क्लस्टरमा आरक्षणको व्यवस्था गरिएको भनिएपनि त्यसको सुविधा भने शीर्ष नेताका परिवारले पाएका छन्। यसअघि सम्पन्न नेपाली कांग्रेसको महाधिवेशनमा पनि शीर्ष नेताका आफन्तले आरक्षण सुविधा उपभोग गरेका थिए। प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको पत्नी डा आरजु राणाले महिलातर्फको आरक्षण सुविधा उपभोग गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन्।

माओवादी नेता वर्षमान पुन खुल्लातर्फबाट केन्द्रीय समिति सदस्य बनेका छन् भने उनकी पत्नी ओनसरी घर्तीले केन्द्रीय सदस्य बन्नका लागि जनजाति महिलाको कोटा उपभोग गरेकी हन्। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहेका देवेन्द्र पौडेल खुल्लाबाट केन्द्रीय सदस्य बन्दा उनकी श्रीमती बलावती शर्मा खसआर्य महिलाबाट केन्द्रीय सदस्यमा छानिएकी हुन्।

माओवादी केन्द्रको केन्द्रको केन्द्रीय कमिटीमा देव गुरुङ दम्पती चयन भएका छन्। देवपत्नी यशोदा गुरुङ सुवेदी खुल्लाबाट केन्द्रीय समितिमा समेटिएकी हुन्।

पूर्वमन्त्री शक्ति बस्नेत बस्नेत खुल्लातर्फबाट केन्द्रीय समितिमा आउँदा उनकी श्रीमती सत्या पहाडी खस आर्य महिलाको आरक्षण कोटा उपभोग गरेकी हुन्। नेता लीलामणि पोखरेल र उनकी पत्नी भूमि सुधारमन्त्रीसमेत रहेकी शशी श्रेष्ठ केन्द्रीय समितिमा अटाएका छन्। पोखरेल खुल्लातर्फबाट र श्रेष्ठ जनजाति महिलाबाट केन्द्रीय सदस्य बनेकी हुन्।

हितमान शाक्य खुल्लाबाट केन्द्रीय सदस्य बन्दा उनकी श्रीमती अमृता थापा जनजाति महिलाबाट पहिलो नम्बरमा केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। गणेशमान पुन खुल्लाबाट केन्द्रीय सदस्य बन्दा उनकी पत्नी कमला रोका जनजाति महिलाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्।

लुम्बिनीका मुख्यमन्त्रीसमेत रहेका कुलप्रसाद केसी र ताराकुमारी घर्ती दुवै जना केन्द्रीय समितिमा अटाएका छन्। केसी खुल्लाबाट केन्द्रीय सदस्य भने भने तारा जनजाति महिलाबाट केन्द्रीय सदस्यमा पारिएकी हुन्। कृष्णध्वज खड्काको दम्पती पनि केन्द्रीय सदस्य बनाइएका छन्। खड्काकी पत्नी रेखा शर्मा पनि केन्द्रीय समिति सदस्य बनेकी छिन्। खड्का र शर्मा दुवै जना खुल्लातर्फबाट केन्द्रीय समितिमा निर्वाचित भएका हुन्।

यस्तै सूर्य सुवेदी र ज्ञानु बस्नेत दम्पती पनि केन्द्रीय सदस्य बनेका छन्। दिलीप प्रजापति र प्रतिमा श्रेष्ठ पनि केन्द्रीय समितिमा अटाएका छन्। देवेन्द्र पराजुली र कल्पना धमला पनि केन्द्रीय समितिमा अटाएका छन्। देवेन्द्र खसआर्यका तर्फबाट र धमला खसआर्य महिलाबाट केन्द्रीय समितिमा अटाएका हुन्।