सेयर बजारमा लगातार दोहोरो अंकको वृद्धि भएको छ । आइतबार एकैदिन ६० अंकले बढेको नेप्सेमा आज पनि उच्च अंकले बढेको हो । पछिल्ला दुई दिनमै नेप्से ९३ अंकले बढेको छ ।
सूचकसँगै कारोबार रकममा पनि बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ४० करोडले बढेर साढे ४ अर्ब रुपैयाँ पुगेको छ ।सोमबार सेयर बजार मापक सूचक नेप्से ३२.०३ अंकले बढेर २६१६.९४ विन्दुमा पुगेको छ । आज २३० कम्पनीको ४ अर्ब ५३ करोड ३० लाख १७ हजार १७९ रुपैयाँ बराबरको ८२ लाख ५ हजार ५२ कित्ता सेयर किनबेच भएका छन् ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये उत्पादनमूलक समूह बाहेक बाँकी सबै समूहको परिसूचकमा हरियाली छाएको छ । व्यापार समूह सबैभन्दा धेरै ७.०४ प्रतिशतले बढेको छ । त्यस्तै, माइक्रोफाइनान्स र फाइनान्स समूह पनि २ प्रतिशभन्दा धेरैले बढेको छ ।
आज कारोबार भएका २३० कम्पनीमध्ये १७९ कम्पनीको सेयर मूल्य बढेको छ भने ४६ कम्पनीको घटेको छ । ५ कम्पनीको मूल्य भने स्थिर रहेको छ । आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको २८ करोड बढीको सेयर किनबेच भएको छ । त्यस्तै, अपी पावर १८ करोड र शिवम् सिमेन्ट १६ करोड बढीको कारोबार भई धेरै कारोबार हुने शीर्ष तीन कम्पनीमा रहे ।
दोहोरो अंकले बढेको बजारमा आज मध्यभोटेकोशी जलविद्युत् कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।
त्यसैगरी, गुराँस लघुवित्त ९.४५, एनआइसी एशिया लघुवित्त ८.३८, साल्ट ट्रेडिङ ८.१४, फर्स्ट माइक्रोफाइनान्स ७.८३, सप्तकोशी विकास गुह्वेश्वरी मर्चेन्ट र लक्ष्मी बैंकको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले बढेको छ । त्यस्तै, स्वरोजगार लघुवित्त, सामुदायिक लघुवित्त, आशा लघुवित्त, मिथिला लघुवित्त, आएरएसडीसी लघुवित्त, रिलायन्स फाइनान्स र बोटलर्स नेपालको सेयर मूल्य ५ प्रतिशतले बढेको छ ।
बढ्दो बजारमा आज रुरु जलविद्युत्का सेयरधनीले सबैभन्दा धेरै २.५९ प्रतिशत गुमाएका छन् ।