शिक्षक सेवा आयोगको परिक्षामा एक नम्बरमै यी दृष्टिविहीनले यसरी निकाले नाम

  • प्रकाशित मिति : २०७८ पुष १९, सोमबार
  • chhanbin.com

उमेरमा भर्खरै ३७ टेकेका कलाधर भण्डारीलाई झट्ट देख्नेले दृष्टिविहीन भनेर ठम्याउन सक्दैनन् । खाइलाग्दो शरीर, आँखामा चस्मा, निडर स्वभाव, चिटिक्क कपाल, कोटपाइन्टमा सजिने कलाधर आँखाले सृष्टि नदेखेका युवा हुन् । सृष्टि नदेखेपनि अध्ययन र भरिएको ज्ञानले उनले विश्व देखेका छन् ।

लुम्बिनी प्रदेशको बर्दिया जिल्ला बडैयाताल गाउँपालिका–६ रानीपुरमा जन्मिएका भण्डारी स्थायी शिक्षक हुन् । भाग्यले ठगिए पनि कर्ममा लगनशील भएर अगाडि बढेका कलाधरले जीवनमा कहिल्यै हन्डर/ठक्कर खाएनन् ।

भण्डारीको लगनशीलताले दिनचर्या मात्र होइन, जीवनशैली पनि फेरियो । दृष्टि नभए पनि उनलाई कसैले अवरोध गरेन । उनी अगाडि बढिरहे, सफलता चुमिरहे ।

देशभर अपाङ्गता भएकाहरूको अधिकार र उनीहरूलाई समाजमा स्थापित गर्न पथ प्रदर्शकको रूपमा भण्डारी लागेका छन् । नेपाली समाजले अझै पनि फरक क्षमता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोणमा सुधार गर्न लामो यात्रा जरुरी रहेको उनी बताउँछन् ।

सरकारले जतिसुकै कानून बनाओस्, अपाङ्गतालाई हेर्ने त्यो मान्यता र आचरणमा अझै परिवर्तन आएको छैन । त्यसलाई परिवर्तन गरी अपाङ्गताको क्षेत्रमा रोजगार, शिक्षा र घरबाहिर ल्याउन भण्डारी लागेका छन् ।

भण्डारी परिवारका ६ दिदीभाइमध्येका कलाधार कान्छा छोरा हुन् । उनी जन्मिँदा सामान्य नै थिए । १ वर्षसम्म उनी बुवाआमाको अनुहार हेरेर हाँस्ने गरेको उनलाई दिदीदाइले अझै पनि भन्ने गर्छन् । तर बिस्तारै हिँड्ने बेलामा उनको आँखाको दृष्टि नभएको पुष्टि भयो । उपचारका लागि विभिन्न अस्पताल र ठाउँमा पनि पहल गरियो । तर कलाधारको दृष्टि फर्किएन ।

विद्यालय जाने उमेर भयो तर गाउँमा दृष्टिविहीन पढ्ने विद्यालय थिएनन् । उनलाई नेपालगञ्जको मंगल हाईस्कूलमा पढाउन ल्याइयो । विद्यालय भर्ना गरेर पनि उनलाई पढाइप्रति रुचि नै थिएन ।

उनलाई ब्रेललिपि पढ्न ‘झ्याउ’ लाग्थ्यो । ३ कक्षामा पुगेपछि उनलाई पढाइले महत्त्व बुझे । त्यसपछि उनले विद्यालयमा सधैं प्रथम स्थान हाँसिल गरे । २०५९ सालमा एसएलसीमा ७१ प्रतिशत अंक ल्याएर उनी उत्तीर्ण भए । उनले ल्याएको अंक त्यो वर्ष देशभरका दृष्टिविहीनमा सर्वोकृष्ट हो ।

एसएलसी उत्तीर्णपछि उच्च शिक्षाका लागि उनी काठमाडौंतर्फ मोडिए । सानोठिमी क्याम्पसको छात्राबासमा बसेर उनले शिक्षा संकायतर्फबाट नेपाली विषयमा प्रविणता प्रमाणपत्र तह र स्नातक तह उत्तीर्ण गरे । त्यहाँ पनि उनको उत्तीर्णांक प्रथम श्रेणी नै रह्यो ।

भण्डारीले पढाइ रोकिएन । स्नातकोत्तर तह पनि त्रिभुवन विश्वविद्यालयको होस्टेलमै बसेर शिक्षा र मानविकी संकायमा एकैपटक दुवै विषयमा प्रथम श्रेणीमा उत्तीर्ण गरे । पढाइ पूरा भएसँगै उनलाई अवसरले पनि पछ्यायो ।

२०६७ सालमा ललितपुरको श्रमजीत किशोर माविमा दृष्टिविहीन राहत कोटामा मावि तहको लागि शिक्षकको आवेदन माग भयो । उनले आत्मविश्वासका साथ आवेदन दिए । उनी परीक्षामा सामेत भए, पहिलो नम्बरमै नाम निकालेर जागिरे जीवन शुरूवात गरे ।

सबै ठाउँमा प्रथम उनी अहिले काठमाडौंमै डेरामा बस्छन् । जागिरे जीवनसँगै उनी स्थायी जागिरे हुनको लागि शिक्षक सेवा आयोगको तयारी पनि गरिरहेका थिए । २०६९ सालमा शिक्षक सेवा आयोग खुल्यो । उनले प्रावि, निमावि र मावि गरी तीनै तहको लागि आवेदन दिए । उनी प्रावि र निमाविमा पहिलो प्रयासमै स्थायी शिक्षकमा नाम निकाल्न सफल भए । उनी हाल नेपाल आदर्श मावि काठमाडौंमा पठनपाठन गराउँछन् ।

‘म अपाङ्ग भए पनि कहिल्यै असफल भइनँ । सधैं सफल भइरहे । मेहनत पनि गरिरहें,’ भण्डारी भन्छन् । कानूनमा बाध्यकारी व्यवस्था भएर मात्रै अहिले धेरै दृष्टिविहीन पनि सरकारी सेवामा प्रवेश गरेका उनी बताउँछन् । ‘नत्र अपाङ्गता भएका नागरिक राज्यको सबै तहमा पुग्ने थिएनन्,’ उनले भने ।

भण्डारी अपाङ्गत भएका व्यक्तिलाई घर परिवारले अन्य सदस्य जस्तै वातावरण दिनुपर्ने बताउँछन् । ‘अपाङ्गता भएकाहरूलाई धेरै माया पनि गर्नु हुँदैन । भेदभावपूर्ण व्यवहार गरेर घृणा पनि गर्नु हुँदैन । अपाङ्गता भएका व्यक्तिहरूका लागि यी दुवै घातक हुन् । अन्य सबै सरहको व्यवहार गरेमा उनीहरू पनि कुनै पनि कुरामा कम हुँदैनन्,’ कलाधर भन्छन्, ‘यो समाजले चुनौती मात्रै होइन, एउटा नयाँ बाटो नै निर्माण गरेको हुन्छ । आफूभित्र लुकेर रहेको प्रतिभा अपाङ्गता भएकाले निकाल्न जरुरी छ ।’

उनी जागिर मात्रै गर्दैनन्, सामाजिक क्षेत्रमा पनि जोडिएका छन । नेपाल नेत्रहीन युवा संघ नेपालको केन्द्रीय अध्यक्ष छन्, जुन संस्थालाई उनले १० वर्षदेखि हाँकिरहेका छन् । नेपाल नेत्रहीन संघको पनि उनी केन्द्रीय सचिव हुन् । युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषद्को सदस्यमा समेत उनलाई सरकारले नियुक्त गरेको छ । उनी स्कूल कमिटीदेखि नेकपा एमाले निकट अखिलको सदस्य हुँदै राजनीतिमा पनि जोडिएका छन् ।

उनी २०६० सालमा सानोठिमी क्याम्पसमा स्ववियूमा सर्वाधिक मत ल्याएर सदस्य जितेका थिए । ‘अपाङ्गता भएका मानिसमा केही सीमाहरू र सीमितता हुन्छन् । राज्यले निर्माण गर्ने संरचनाले थप समस्यामा पार्ने गरेको देखिन्छ,’ उनले भने, ‘हामीले निर्माण गरेका भौतिक संरचनाहरू अपाङ्गमैत्री हुन नसक्दा त्यसले कदम–कदममा अपाङ्गता भएको अनुभूति दिलाइरहन्छ ।’

भण्डारीको एउटा छोरा ७ वर्षको पुगिसकेका छन् । उनले चितवनकी कोपिला केसीसँगको प्रेम सम्बन्धलाई मागी विवाहमा परिवर्तन गरेका हुन् । कोपिला पनि शिक्षक हुन् । कोपिलाले चितवनको बालकुमारी माविमा पढाउँछिन् । कलाधर–कोपिलाको जोडी लोभलाग्दो छ ।

‘अपाङ्गता भएका व्यक्तिले स्वास्थ्य सम्बन्धी सेवा पाएका छैनन् । अपाङ्गको स्वास्थ्य जटिल छ । अपाङ्गता भएका व्यक्तिको ‘फिजिकल एक्सरसाइज’ हुँदैन । जसले गर्दा युवा अवस्थामै सुगर, प्रेसर जस्ता नसर्ने रोगको शिकार हुनुपर्ने अवस्था छ,’ भण्डारीले भने, ‘त्यसलाई रोकथामका लागि राज्यले अपाङ्गमैत्री फिटनेस सेन्टर बनाउन जरुरी छ ।’

नेपालमा कूल जनसंख्याको २ प्रतिशत अपाङ्गता भएका व्यक्ति छन् । तीमध्ये करीब ५ लाख दृष्टिविहीन छन् । सरकारले फरक क्षमता भएका व्यक्तिको संरक्षण लगायतका क्षेत्रमा सहयोग नगरे पनि सीप क्षमताका आधारमा रोजगार व्यवस्थापन गरिदिए धेरै राहत मिल्ने भण्डारीले बताए ।