पदाधिकारी छान्न प्रचण्डले जुराए तीन बजेको साईत, कहाँ बस्दैछ बैठक ?

  • प्रकाशित मिति : २०७८ पुष १९, सोमबार
  • chhanbin.com

नेकपा माओवादी केन्द्रले पदाधिकारी चयन गर्ने तयारी गरेको छ । पदाधिकारी चयन गर्ने तयारी स्वरुप माओवादी केन्द्रले नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक बोलाएको हो । आइतबार साँझ २३६ सदस्यीय केन्द्रीय सदस्य चयन गर्दै माओवादीको आठौँ महाधिवेशन सकिएको थियो ।

बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पढेको केन्द्रीय सदस्यको नामावलीलाई पारित गरेको थियो । केन्द्रीय कमिटीमार्फत नै पदाधिकारी चयन गर्ने माओवादीको तयारी छ । त्यसका लागि दिउँसो तीन बजे सानेपास्थित ब्यांक्वेटमा केन्द्रीय समितिको बैठक बोलाइएको नेता कृष्णबहादुर महराले जानकारी दिए ।

उनले केन्द्रीय समितिको बैठकले अध्यक्ष, उपाध्यक्ष, महासचिवलगायत पदाधिकारी चयन गर्ने बताए । विधान अनुसार माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय छ । तर, आइतबार बन्दसत्रमा प्रचण्डले २३६ जना केन्द्रीय सदस्यको नाममात्रै पेस गरेका थिए । बाँकी सदस्य पछि मनोनीत गरिने उनले जानकारी दिएका थिए ।