निष्ठालाई तिलाञ्जली दिएका रामचन्द्र पौडेललाई लोभले यसरी खायो कर्लप्पै

  • प्रकाशित मिति : २०७८ पुष १९, सोमबार
  • chhanbin.com

मंसिर २५ गते बिहान कांग्रेस नेता रामचन्द्र पौडेल आफ्नै निवास बोहोराटारमा भावुक देखिए। पार्टीका नेता–कार्यकर्ता र पत्रकारले घेरिएका उनको दुःखेसो थियो– आफू नेतृत्वको गुटकै नेताहरुले साथ नदिँदा सभापतिको उम्मेदवार बन्न पाइनँ। त्यही दिन कांग्रेसको १४औं महाधिवेशनका लागि मनोनयन दर्ता गर्ने कार्यक्रम थियो। तर, १३औं महाधिवेशनमा सभापतिमा पराजित पौडेलको पुनः सभापति उठ्ने सपनामा तुषारापात भइसकेको थियो।

खासगरी प्रकाशमान सिंह र डा. शेखर कोइरालाबीच सहमति जुट्न नसक्दा आफ्नो गुटबाट साझा उम्मेदवार चयन हुन नसकेको र आफू सभापतिमा उठ्ने सम्भावना सकिएपछि पौडेल सार्वजनिक रूपमै रोएका थिए। त्यसो त महाधिवेशन सुरु हुनुभन्दा केही दिनअघि उम्मेदवार चयन गर्न प्रकाशमान सिंह निवास चाक्सीबारीमा बसेको समूहको भेलामा राजनीतिबाटै संन्यास लिने भन्दै बाहिरिएका पनि थिए।

आफ्नै निवासमा पत्रकार सामुन्ने आँसु खसालेका पौडेलले कांग्रेस महाधिवेशन प्रक्रियाबाटै अलग भएको घोषणासमेत गरे। आफ्नो घोषणाअनुसार नै उनी कांग्रेस सभापतिका लागि भएका दुवै चरणका मतदानमा सहभागी भएनन्। कांग्रेसमा नेतृत्व परिवर्तन अनिवार्य सर्त भएको बताउँदै आएका पौडेल महाधिवेशनका चुनावी प्रक्रियाबाट अलग भएर ‘न्युट्रल’ बस्न नसकेको तर सभापति शेरबहादुर देउवालाई मौन समर्थन गरेको भन्दै आलोचित बने।

पौडेलले पत्रकारसामु आँसु खसालेकै दिन साँझ सभापति देउवा उनलाई भेट्न बोहोराटार पुगेका थिए। पौडेललाई भेटेर देउवाले भनेका थिए, ‘स्वास्थ्य ठिक राखेर बस्नुस्, राष्ट्रलाई तपाईंको खाँचो छ।’

दोस्रो चरणको निर्वाचन हुने बिहान उनले महाधिवेशन प्रतिनिधिलाई चियापानमा निम्त्याएका थिए। जुन कार्यक्रममा पहिलो चरणको निर्वाचनमा पहिलो बनेका देउवा र दोस्रो बनेका कोइरालासमेत उपस्थित थिए। चियापानमा देउवालाई निम्त्याएर ‘मिलिभगत’ गरेको भन्दै कार्यकर्ता आक्रोशित थिए। दोस्रो चरणको निर्वाचनमा पौडेल कांग्रेस नेतृत्व परिवर्तनका पक्षमा उभिने धेरैको अपेक्षा थियो। तर, पौडेल खुलेनन्।

भृकुटीमण्डपमा मदतान भइरहँदा बोहोराटारमा आराम गरेर बसेका पौडेल कुनै पनि उम्मेदवारका पक्षमा नखुलेपछि संस्थापन इतर समूहका नेता–कार्यकर्ताले देउवालाई मौन समर्थन गरेको अर्थमा बुझ्ने शंकाको सुविधा पाएकै थिए।

नेता-कार्यकर्ताले पौडेल केन्द्रीय समितिमा मनोनLत भएपछि सार्वजनिक रुपमा आपत्ति जनाइरहँदा पौडेल भने मौन छन्। उनको मौनताको अर्थ हो- देउवाले दिएको पद स्वीकार गर्ने र परिआउँदा उनलाई सहयोग गर्ने। संस्थापन इतर समूहका नेता-कार्यकर्ताको जे शंका थियो, शनिबार देउवाले गरेको मनोनयनबाट त्यो पुष्टि भएको कांग्रेसका नेताहरूले नै विश्लेषण गरेका छन्। शेखर कोइराला समूहका नेताहरूले नेतृत्व चयन प्रक्रियाबाट अलग भएका पौडेल केन्द्रीय समितिको मनोनीत हुनु अशोभनीय भएको टिप्पणी गरिरहेका छन्।

नेता-कार्यकर्ताले पौडेल केन्द्रीय समितिमा मनोनित भएपछि सार्वजनिक रुपमा आपत्ति जनाइरहँदा पौडेल भने मौन छन्। उनको मौनताको अर्थ हो- देउवाले दिएको पद स्वीकार गर्ने र परिआउँदा उनलाई सहयोग गर्ने।

यसअघि पौडेल समूहबाटै क्रियाशील भएका तर महाधिवेशनपछि कोइराला कित्तामा पुगेका नेता गुरुराज घिमिरेले सामाजिक सञ्जालमा पौडेलको मनोनयनप्रति प्रश्न तेर्स्याएका छन्। उनको प्रश्न छ, ‘प्रक्रियाबाटै अलग्गिएको व्यक्ति मनोनीत कसरी हुनुभो?’ राजनीतिमा नैतिकताको प्रश्न उठाउने नेतामै नैतिकता नरहेको संकेतसहितको आलोचना घिमिरेको छ। उनले भनेका छन्, ‘हाम्रा श्रद्धेय नेता रामचन्द्र पौडेल चौधौं महाधिवेशनको नेतृत्व छनौट प्रक्रियाबाट अलग रहने निर्णय गर्नुभो। आज केस (केन्द्रीय सदस्य) को मनोनयनमा पर्नुभो,’ घिमिरेले थपेका छन्, ‘प्रक्रियाबाटै अलग्गिएको व्यक्ति मनोनीत कसरी हुनुभो? राजनीतिमा नैतिकताको प्रश्न उठाउने उहाँ नै हैन? अनि साझा सभापति हुन्छु भन्ने नेताको चयन यही हो?’

मंसिर २५ गते आफ्नै निवासमा पौडेलले आँसु खसालिरहँदा धेरैले उनको तुलना गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले कांग्रेस छोडेको घटनासँग तुलना गरे। कांग्रेसमा लामो समय योगदान गरेका र त्याग गरेका नेताहरु जीवनको उत्तरार्द्धमा रुँदैरुँदै पार्टी छाड्नुपर्ने अवस्था अझसम्म पनि उस्तै रहेको भनेर पौडेलप्रति सहानुभूति दिनेहरू कम थिएनन्।

पौडेलकै समूहमा सक्रिय राजनीति गरिसकेका नेताहरूको मत भने सहानुभूति दिनेहरूसँग मेल खाँदैन। पौडेललाई पार्टी वा समूहले रुवाएको मान्न तयार छैनन् उनीहरू। बरु, आफ्नै कमजोरीका कारण पौडेलले आँसु झारेको तर्क उनीहरुको छ।

१३औं महाधिवेशनपछिका साढे ५ वर्ष पौडेल एउटा समूहको नेता बने। उनले समूहलाई एकत्रित राख्न सकेनन्। जसरी संस्थापन समूहमा देउवालाई नेता मान्न र उनलाई जिताउने सन्दर्भमा अन्य नेता एक ढिक्का थिए, त्यसरी गुटलाई एकत्रित गर्न पौडेलले सकेनन्। समूहभित्र एकता कायम गर्ने चुके पौडेल। फलस्वरुप उनको समूहबाट सभापति पदका आकांक्षी धेरै देखिए। अन्तिम अवस्थामा रामचन्द्रको नाममा सबै सहमत हुने अवस्था पनि बनेन। त्यसैकारण पौडेलले आँसु खसालेका थिए।

रामचन्द्रको आँसुको गुनासो शेखर कोइराला र प्रकाशमान सिंहप्रति भएको धेरैको आकलन छ। तर यी दुवै नेताले अन्तिम समयमा गएर सभापतिका लागि दाबी गरेका पनि होइनन्। १३औं महाधिवेशन सकिएदेखि नै शेखरले आफू १४औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने बताउन थालेका थिए। यसकै लागि उनी विभिन्न जिल्ला पुगेर नेताहरूसँग भेटघाट जारी राखे।

उता प्रकाशमानले पनि महाधिवेशनमा उम्मेदवारको मनोनयन गर्नुभन्दा निकै समय पहिलेदेखि नै १४औँ महाधिवेशनमा आफू उम्मेदवार बन्ने बताइसकेका थिए। उनले पटकपटक विमलेन्द्र निधि र शशांक कोइरालासँग मिटिङ गरिसकेका थिए। तर यी दुवै नेताको भनाइलाई रामचन्द्र पौडेलले संवेदनशील रूपमा लिएनन्। कोइराला र सिंहले पनि सुरुसुरुमा दाबी गर्दै गर्छन् तर अन्तिममा आफूलाई नै समर्थन गर्छन् भन्ने पौडेलको बुझाइ थियो। तर त्यो बुझाइ अन्तिममा सत्य साबित नहुँदा पौडेलका आँखा रसाएका थिए।

‘उहाँले समूह व्यवस्थापन गर्न नसकेकै हो नि। समूहको व्यवस्थापन गर्न नसक्ने अनि आँसु खसाल्ने ? उहाँलाई रुवाइएको थिएन। उहाँकै अक्षमता कारक थियो,’ पौडेललाई नजिकबाट नियालेर राजनीति गरेका एक नेता भन्छन्, ‘त्यसको पुष्टि त अहिले भइहाल्यो नि। प्रक्रियाबाट अलग हुने भन्ने अनि केन्द्रीय सदस्य चाहिने ? यसले उहाँको राजनीतिक निष्ठालाई पुष्टि गरेन र ?’

पौडेलले संस्थापन इतर समूहको नेतृत्व गर्दा सोही समूहमा रहेर काम गरेकाका नेताहरूले नै अहिले उनलाई आलोचना गरिरहेका छन्। एक नेताका शब्दमा पौडेलले ‘सेल्फ सेन्ट्रिक’ राजनीति गरेका थिए। त्यसकै मूल्य पौडेलले १४औं महाधिवेशनको उम्मेदवार चयनमा तिर्नुपरेको हो।

‘लोकतन्त्रमा एकएक मतको महत्त्व छ भनेर लडेको मान्छे लोकतान्त्रिक प्रक्रियाबाट बाहिरिने अनि भाग खोज्ने ? बोहोराटारमा कुण्ठाका पोख्नुभएको थियो,’ ती नेता भन्छन्, ‘उहाँले उठाएको नेतृत्व परिवर्तनको एजेन्डा सेट गर्न के गर्नु भयो ? आखिर त्यो एजेन्डा त उहाँ आफू हुने हदसम्मका लागि मात्रै त रहेछ नि। उहाँको आत्मकेन्द्रित राजनीतिकै कारण उहाँप्रति सहानुभूति देखाउने नेताहरू पनि टाढिए। लामो समय उहाँसँगै रहेका नेताकार्यकर्तालाई पनि अहिले रुष्ट बनाउनुभयो।’

पौडेलले हालै दिएको एक अन्तर्वार्तामा आफू द्रवित हुनुको कारण खुलाएका छन्। चाक्सीबारीमा आफू द्रवित भएको र महाधिवेशन प्रक्रियाबाट अलग हुनुपर्ने कारण खुलाएका छन्। प्रकाशमान सिंहले आफू सभापतिमा लडिछाड्ने अडान नछाडे पनि डा. शखेरले आफूलाई बाटो नछाडिदएकोमा उनको दुःखे रहेछ। ‘अन्तिम दिनमा प्रकाशमानजीले म ‘नलडी’ छोड्दिनँ भन्नुभयो। त्यसपछि डा. शेखर कोइरालाले पनि ‘अब रामचन्द्र दाइ लड्नुहुँदैन। तपाईं जोगिएर बस्नुपर्छ भन्नुभयो,’ पौडेलको गुनासो छ, ‘प्रकाशमान सिंह लडे पनि शेखरजीले हामी तपाईंकै साथमा छौं’ भन्नुहोला भन्ने अपेक्षा राखेको थिएँ। उहाँले पनि तपाईं लड्न हुँदैन भन्नुभयो।’

पौडेल नेतृत्वकै समूहमा रहेर काम गरेका नेताहरु भने पौडेलले जसलाई च्यापेका थिए, उसकै कारण द्रवित हुनुपर्ने अवस्था आएको बताउँछन्। ‘रामचन्द्र दाइले प्रकाशमान सिंहलाई च्याप्नुभएको थियो। उहाँ कोइरालालाई भन्दा प्रकाश दाइलाई स्पेस दिनुहुन्थ्यो। अन्तिममा आफैंले च्यापेका नेताले हुर्मत लिइदिए। उहाँलाई कसैले थाङ्नामा सुताएको होइन, जानाजान आफैं थाङ्नोतिर लाग्नुभएको हो,’ ती नेता भन्छन्, ‘रामचन्द्र दाइ सहानुभूतिको कुरा गर्नुहुन्छ। तर, राजनीतिमा सहानुभूति हुँदैन। त्यो कुरा उहाँले बुझ्नुभएन। समूहभित्रै आफ्नो विकल्पको खोजी भइरहेको कुरालाई उहाँले अरुको कमजोरी ठान्नुभयो। त्यसलाई निराकरण गर्न उहाँले ध्यान केन्द्रित गर्न सक्नुभएन।’

महाधिवेशनका चुनावी प्रक्रिया बहिष्कार गरेका पौडेलमा लाभको लालसा भने उत्कट देखिन्छ। नेतृत्व चयन प्रक्रियाबाट अलग रहेको घोषणापछि निवासमै भेट्न पुगेका देउवाले पौडेललाई राष्ट्रपतिको आश्वासन दिएको चर्चा राजनीतिक वृत्तमा छ।

त्यसबाहेक पौडेललाई केन्द्रीय समितिमा मनोनीत गर्नु र देउवालाई मौन समर्थन जनाउनुले पनि दुई नेताबीच ‘गिभ एन्ड टेक’को सहमति भएको पुष्टि गर्ने ती नेता बताउँछन्। पार्टी राजनीतिमा टिकिइरहने र देउवासँगको पूर्वसर्तअनुसार राष्ट्रपति हुने प्रयास गर्न पौडेलले निष्ठालाई तिलाञ्जली दिएर प्रतिक्रियाविहीन बनेको विश्लेषण ती नेताको छ। ‘केन्द्रीय समितिमा आएपछि उहाँको भूमिका के हुन्छ? अब त उहाँ गुटको नेता पनि हुनुहुन्न नि। यसरी हेर्दा त उहाँ पार्टी राजनीतिमा टिकिरहने र आफूलाई राष्ट्रपति बनाउन दबाब सिर्जना गर्ने अभिप्रायबाहेक अरु केही पनि देखिँदैन,’ ती नेता भन्छन्।