एमाले मुख्यालयबाटै ओलीले भर्चुअल्ली एमाले जिल्ला अधिवशेन उद्घाटन गर्ने

  • प्रकाशित मिति : २०७८ पुष १८, आईतवार
  • chhanbin.com

नेकपा एमालेले भूगोलतर्फको जिल्ला अधिवशेन एकैपटक गर्ने तयारी गरेको छ । यसअघि वडा र पालिका पनि एकैपटक अधिवेशन गरेको एमालेले शुक्रबार भूगोलतर्फको जिल्ला अधिवेशन एकै दिन गर्ने तयारी गरेको हो । अध्यक्ष केपी शर्मा ओलीले जिल्ला अधिवेशनको उद्घाटन केन्द्रीय कार्यालय थापाथलीबाट भर्चुअल रुपमा गर्ने कार्यक्रम छ ।

ओलीले सोही दिन काठमाडौं र काभ्रे जिल्ला अधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको कार्यालय सचिव डा भीष्म अधिकारीले बताएका छन् । ‘केही हिमाली जिल्लाहरूमा बाहेक अन्यमा स्थानमा भूगोलतर्फको जिल्ला कमिटीको अधिवेशनमा शुक्रबार एकैपटक हुनेछ।

अध्यक्षले केन्द्रीय कार्यालयबाट भर्चुअल्ली उद्घाटन गर्नु हुनेछ’ अधिकारीले भने, ‘केही जिल्लाले प्रतिकुल मौसमी अवस्थाको कारण अहिले अधिवेशनमा गर्न नसकिने जानकारी गराउनु भएको छ । ती जिल्लाहरूको लागि नयाँ मिति तोकिने छ । जिल्ला अधिवेशनको विषयमा केन्द्रले भन्दा पनि प्रदेश कमिटीले बढी समन्वय गरिरहेको छ ।’

पहिले भने जिल्ला कमिटीको अधिवेशन फरक-फरक मितिमा हुने गरेको थियो । एमालेको विधानमा ३-३ वर्षमा जिल्ला अधिवेशन गर्नुपर्ने व्यवस्था छ । एमाले र माओवादी केन्द्रबीच भएको एकतापछि निष्कृय रहेको जिल्लालाई एकैपटक अपडेट गर्नका लागि एकै मितिमा अधिवेशन गर्न लागेको अधिकारीले बताए ।

‘वडा र पालिका अधिवेशनमा असोजमा हामीले एकैपटक गरेका थियौं । अब जिल्ला कमिटीको पनि त्यसैगरी अधिवेशन हुनेछ’ उनले भने, ‘गैर भौगोलिकतर्फको अधिवेशन पनि पुस महिनाभित्र भइसक्छ । एमालेका तल्लो कमिटीहरू कति सशक्त छन् भन्ने पनि देखाउने छ ।’

यस्तै मंसिर अन्तिम साता भएको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले पुस २३ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको थियो । एमालेको भूगोलतर्फ ७७ वटा जिल्ला कमिटी रहेका छन् ।

यस्तै गैरभौगोलिक ११ गरी ८८ जिल्ला कमिटी रहेका छन् । उपत्यका कमिटी अन्तर्गत् पेशागत, विद्यार्थी, मजदूर र उद्योग व्यवसाय गरी ४ वटा कमिटी छन् । सम्पर्क मञ्चको प्रदेश कमिटी पनि जिल्ला कमिटी बराबर हैसियतमा रहन्छ । अधिकारीले पुस मसान्तभित्र गैरभौगोलिक जिल्ला कमिटीको पनि अधिवेशन हुने बताएका छन् ।