शेखरको सेखी झार्न देउवाले २४ घण्टाको अवधिमा किन हाने दुई-दुई पटक घन ?

  • प्रकाशित मिति : २०७८ पुष १८, आईतवार
  • chhanbin.com

शेखर कोइरालाको सेखी झार्नैका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले पछिल्लो २४ घण्टामा २ पटक कांग्रेसको केन्द्रीय समिति विस्तार गरे । दईपटकमा गरेर देउवाले १३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्दै शेखरलाई घन हानेको संकेत दिएका हुन्।

१४ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि देउवाले सबैलाई समेटेर जाने बताएका थिए । यद्यपि, दुई चरणको मनोनयनबाट प्रतिस्पर्धी खेमालाई ‘इग्नोर’ गरेर देउवा अघि बढ्न खोजेको देखिन्छ । निर्वाचनमा प्रत्यक्ष-अप्रत्यक्षरूपले सहयोग गर्नेदेखि आफ्नो समूहबाट पराजित पदाधिकारीका प्रत्याशीलाई देउवाले केन्द्रीय समितिमा ल्याएका देउवाले शेखरको समूहलाई बेवास्ता गरेका छन् ।

केन्द्रीय समितिमा दुई तिहाईभन्दा बढी वर्चस्व भएका कारण देउवाको हरेक निर्णय बहुमतले सदर हुने अवस्था छ । यही कारण शेखर समूहलाई ‘साइज’ मा राख्ने रणनीति देउवाले अंगीकार गरेका हुन् । ‘सुरूदेखि नै भाउ दिन खोज्यो भनेपछि गार्‍हो पर्न सक्छ । केन्द्रीय समितिमा उपस्थिति हेर्दा शेखर पक्षलाई धेरै मिलाउनपर्ने देखिँदैन । त्यसैले सभापतिजी यसपटक सुरूदेखि नै प्रष्ट भएर हिँड्न खोज्नुभएको छ’, देउवानिकट एक नेताले भने ।

कांग्रेस विधानको दफा २१ ले सभापतिलाई ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्ने अधिकार दिएको छ । हालसम्म देउवाले १३ जना मनोनीत गरेका छन् । १३ जना मनोनीत गर्दा देउवाले आफ्ना निकटतम प्रतिस्पर्धी डा. शेखर कोइरालाको समूहबाट प्रतिस्पर्धा गरी पराजित भएका नेताहरूलाई भने समेटेनन् ।

सभापति देउवाले आफ्नो टिमबाट उपसभापतिमा पराजित भएका विजयकुमार गच्छदार, महामन्त्रीमा पराजित डा. प्रकाशशरण महत र प्रदीप पौडेलसँगै सहमहामन्त्रीमा पराजित जीवनबहादुर शाहीसम्मलाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । महाधिवेशनको चुनावी प्रक्रिया बहिष्कार गरेका रामचन्द्र पौडेल र चुनाव नलडी देउवाको प्रस्तावक बनेका कृष्णप्रसाद सिटौला पनि केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।

त्यस्तै पहिलो चरणमा सभापतिको उम्मेदवार बनेर दोस्रो चरणमा देउवालाई नै सघाएका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले पनि मनोनीत केन्द्रीय सदस्य बन्ने अवसर पाएका छन् । सिंहको प्यानलबाट उपसभापतिमा पराजित सुजाता कोइरालादेखि प्रतिस्पर्धामै नउत्रिएका डा. नारायण खड्का, मीन विश्वकर्मा र उमा रेग्मी पनि केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

कांग्रेस विधानको दफा २१ ले सभापतिलाई ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्ने अधिकार दिएको छ । हालसम्म देउवाले १३ जना मनोनीत गरेका छन् । १३ जना मनोनीत गर्दा देउवाले आफ्ना निकटतम प्रतिस्पर्धी डा. शेखर कोइरालाको समूहबाट प्रतिस्पर्धा गरी पराजित भएका नेताहरूलाई भने समेटेनन् । उपसभापतिमा पराजित डा. चन्द्र भण्डारी र महामन्त्रीमा पराजित डा. मिनेन्द्र रिजाललाई देउवाले केन्द्रीय सदस्यमा मनोनीत गरेका छैनन् ।

उपसभापतिमा स्वतन्त्र उम्मेदवारी दिएका पूर्वमन्त्री महेश आचार्यलाई पनि देउवाले मनोनीत गरेका छैनन् । आफूलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गरेकालाई मात्रै देउवाले २ चरणको मनोनयनमा समेटेका हुन् । देउवा पक्षका नेताहरूले यसलाई सभापतिले आफ्नो अधिकार प्रयोग गरेको रूपमा व्याख्या गरेका छन् भने कोइराला पक्षका नेताहरूले ‘गुटबन्दीको सुरूआत’ गरेको आरोप लगाएका छन् ।