कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार १० र आइतबार तीन जना नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरे। १४ औं महाधिवेशनवाट निर्वाचित भएपछि देउवाले आफ्नो अधिकार प्रयोग गर्दै आफूलाई महाधिवेशनमा सघाएका नेताहरूलाई मनोनित गरेपछि पार्टीवृतमा प्रश्नहरू पनि उठे।
सभापति देउवा पक्षले आफूहरू उदार भएको र सबैलाई समेट्न खोजेको सन्देशसहित मनोनित भएको दाबी गरेका छन् तर नेता शेखर कोइराला पक्षले भने देउवाले पार्टीभित्र शुरुबाटै गुटबन्दी गरेको आरोप लगााउन थालेका छन्। केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले उपसभापतिमा पराजयमा भएका विजय गच्छदारलाई मनोनित गर्दा चन्द्र भण्डारीसँग किन विभेद गरेको भन्दै देउवामाथि प्रश्न उठाए।
“आफ्नो पक्षका नेताहरूले पदाधिकारीमा हार बेहोर्दा पनि केन्द्रीय सदस्य बनाउने तर अरू पक्षका नेताहरूलाई उहाँले छुटाउनुभयो, यसले उहाँको नियत प्रस्टयाउँछ” उनले भने। श्रोतका अनुसार देउवा डाक्टर चन्द्र भण्डारी र डाक्टर मिनेन्द्र रिजालको नाम सुन्नै सक्दैनन्।
१४ औं महाधिवेशनवाट सभापतिमा शेरबहादुर देउवासहित १३ पदाधिकारीहरू र १ सय २१ केन्द्रीय सदस्य निर्वाचित भएका थिए। सभापतिले एक कोषाध्यक्ष, एक प्रवक्तासहित ३३ केन्द्रीय सदस्य मनोनित गर्न पाउने व्यवस्था छ। साथै पार्टी विभागदेखि अन्य संगठनमा पनि सभापतिले नै आफ्नो अधिकार प्रयोग गरेर एक हजारभन्दा बढी मनोयन गर्न पाउने व्यवस्था कांग्रेसको विधानमा छ।
नवनिर्वाचित पदाधिकारीहरू र केन्द्रीय सदस्यहरूको शपथ कार्यक्रम भइसकेको छ भने पहिलो केन्द्रीय समिति बैठक पनि गत १० पुसमा गते नै बसिसकेको छ। आउँदो १९ गते कांग्रेसले देस्रो केन्द्रीय समितिको बैठक बोलाएको छ।
अब कांग्रेसमा निर्वाचित दुई उपसभापति, दुई महामन्त्री र ८ सहमहामन्त्रीको कार्यविभाजनप्रति पार्टीभित्रै चासो देखिएको छ। सभापति देउवाले एक कोषाध्यक्ष र एक प्रवक्ता नियुक्त गर्न बाँकी नै छ। तर पनि उपसभापतिदेखि सहमहामन्त्रीहरूले पाउने भूमिकालाई लिएर कांग्रेसवृतमा चासो देखिएको छ। नेपाली कांग्रेसको विधानमा सभापति, महामन्त्री र कोषाध्यक्षको अधिकारको व्यवस्था प्रस्ट रूपमै गरेको भए पनि उपसभापति र सहमहामन्त्रीबारे कांग्रेस विधान मौन छ।
कांग्रेसले पहिलो पटक समावेशी क्लस्टरअनुसार १४ औं महाधिवेशनबाट आठ जना सहमहामन्त्री छानेको छ। कांग्रेसले पहिलो पटक कोषाध्यक्षबाहेक सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री निर्वाचन प्रणलीमार्फत छानेको हो। त्यही भएर होला पहिलोजस्तो पदाधिकारीमा सभापतिले रोजेजस्तो अनुहार यो पटक छैन।
महामन्त्रीजस्तो कार्यकारी पदमा सभापति देउवा पक्षका दुवै जना उम्मेदवार पराजय भएपछि धेरैले सभापति र महामन्त्रद्वय गगन थापा र विश्वप्रकाश शर्माको सहकार्य कस्तो होला भन्ने पनि चासो देखाउन थालेका छन्। सभापतिले उपसभापतिसहित आठ सहमहामन्त्रीलाई कस्तो कार्यविभाजन गर्लान् भन्ने चासो पनि त्यतिकै देखिएको छ।
१४ औं महाधिवेशन अघिसम्म कांग्रेसमा सभापतिले मनोनित गरेकै उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री हुने गरेका थिए। सभापतिले रोजेकै अनुहार पदाधिकारीमा आउने भएकाले उनीहरू सभापतिबाट धाप पाउनुलाई धेरैले सजिलै विषय लिने गरेका थिए। तर निर्वाचन प्रकियाबाट १४ औं महाधिवेशनमा पदाधिकारी छानेको कांग्रेसको यो पहिलो कार्यसमिति हो।
कांग्रेसको विधानले सभापतिका लागि १६ बुँदे, महामन्त्रीका लागि १२ बुँदे र कोषाध्यक्षका लागि ७ बुँदे अधिकार उल्लेख गरिएको छ। कांग्रेसको नयाँ विधानले केन्द्रीय समितिदेखि पदाधिकारीसम्म ७५ प्रतिशतभन्दा बढी निर्वाचित हुने व्यवस्था गरेको छ। तर अधिकारमा त्यस्तो देखिँदैन। अधिकार, काम र कर्तव्य सभापतिको एकलौटीजस्तै छ।
सभापतिपछि महामन्त्री शक्क्तिशाली भनिए पनि सभापतिकै राय परामर्शमा कामहरू बढाउनुपर्ने बाध्यतात्मक अवस्था देखिन्छ। निर्वाचित दुई उपसभापति र आठ सहमहामन्त्री त झनै सभापतिको अनुकम्पाबाहेक केही पाउने अवस्थामा छैनन्।
यस्तो अवस्थालाई कांग्रेस नेता तथा उपसभापतिमा पराजित महेश आचार्य यो पार्टी विधानको कमजोरी भएको बताउँछन्। “निर्वाचित उपसभापति र निर्वाचित आठ सहमहामन्त्रीको काम र अधिकारको व्यवस्था विधानमा हुनै पर्थ्यो,” आचार्य भन्छन्, “०७५ सालमा भएको महासमिति भेलामा पनि यो प्रश्न नउठेको हैन, तर त्यसलाई वास्ता नै गरिएन।” अध्यक्षीय प्रणालीमा पार्टी भएकाले सबै अधिकार पार्टी सभापतिमा थुपारेको देखिएको उनी तर्क गर्छन्।