ताप्लेजुङको पाथीभरा याङ्वरकलाई साक्षर गाउँपालिका घोषणा गरियो

  • प्रकाशित मिति : २०७८ पुष १७, शनिबार
  • chhanbin.com

ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकालाई शनिबार साक्षर गाउँपालिका घोषणा गरिएको छ। जिल्ला शिक्षा समिति प्रमुख एवम् जिल्ला समन्वय समिति प्रमुख प्रमुख घनेन्द्र मादेनको उपस्थितिमा पालिका अध्यक्ष केशरकुमार सुब्बाले साक्षर गाउँपालिका घोषणा गरेका हुन्। उनले साक्षर पालिका घोषणासँगै पालिकाको समग्र विकासको सूचकमा परिवर्तन आउने बताए।

स्थानीय तहले आफ्नो पालिकाभित्र बसोबास गर्ने १५ वर्ष र सोभन्दा माथिको उमेर समूहका ९५ प्रतिशत जनसंख्या साक्षर भएको अवस्थामा साक्षर पालिका घोषणा गर्न सक्ने व्यवस्था रहेको छ। सोही अनुसार पालिकाले ९७.६४ प्रतिशत जनसंख्या साक्षर भएको अवस्थामा साक्षर पालिका घोषणा गरेको गाउँपालिकाका शिक्षा अधिकृत लासाङ तामाङले जानकारी दिइन्।

पालिकाको शिक्षा शाखाका प्राविधिक सहायक अर्जुन श्रेष्ठका अनुसार गाउँपालिका भरी १५ वर्षदेखि ६० वर्ष उमेर समूहका १२ हजार २ सय ८६ जनसंख्यामध्ये अहिले २ सय ९१ जना मात्र निरक्षर छन्। उनले निरक्षरताको प्रतिशत २.३६ मात्र रहेको जानकारी दिए।

निरक्षर रहेकाहरुलाई वर्षदिन भित्रै साक्षर बनाउने गरी गाउँपालिकाले योजना तय गरेको समेत शिक्षा अधिकृत तामाङले जानकारी दिइन्। पालिकाअन्तरगत३६ वटा सामुदायिक र १ वटा संस्थागत विद्यालय तथा १ वटा सामुदायिक सिकाइ केन्द्र रहेको शिक्षा शाखाले जानकारी दिएको छ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरीले साक्षर पालिका घोषणाले शिक्षा क्षेत्रको विकासलाई मात्र नर्दशाउने बताउँदै साक्षरताको विकासले मानव विकास सूचकाङको स्थिति समेत प्रष्ट्याउने बताए। कार्यक्रममा जिसस प्रमुख मादेनले साक्षरताको प्रमाणले शिक्षा क्षेत्रमा फड्को मारेको र शिक्षा क्षेत्रको समृद्धिले विकासका आयामहरुमा समेत सकारात्मक परिवर्तन ल्याउने बताए।

शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईले साक्षरताको बिषय ज्ञान र बौद्धिकतासँग सम्वन्धित हुने बताए। उनले साक्षरताको अभियानलाई नियमित र प्रभावकारी बनाउने दायित्व स्थानीय सरकारको हुने भएकोले पालिकाको अग्रसरतामा भएको यो अभियान ताप्लेजुङमा प्रभावकारी नै देखिएको बताए।