थ्रीस्टार क्लबले सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो जित निकाल्यो

  • प्रकाशित मिति : २०७८ पुष १७, शनिबार
  • chhanbin.com

थ्रीस्टार क्लबले सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो जित निकालेको छ। दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा थ्रीस्टारले छिमेकी क्लव जावलाखेल युथमाथि २-१ को संघर्षपूर्ण जित निकालेको हो।

थ्रीस्टारलाई जित दिलाउन आयुष घलान र ऋतिककुमार खड्काले गोल गरेका थिए। जावलाखेलका लागि भने निकोलस फर्नान्डेजले गोल गरे।

थ्रीस्टारले पहिलो हाफमै २ गोलको अग्रता बनाएको थियो। खेलको सातौं मिनेटमा आयुषले गोल गर्दै अग्रता दिलाएका थिए। आयुषले सञ्‍जोग राईको पासमा बललाई जाली चुमाए।

त्यसको दुई मिनेटपछि नै जावलाखेलले खेलमा फर्कने सुवर्ण अवसर खेर फ्याँक्यो। ओनगुना जुनियर थ्रीस्टारका गोलकिपर प्रिसोसँग ‘वान भर्सेस वान’मा गोल गर्न चुके।

२६औं मिनेटमा ऋषिकले गोल गर्दै अग्रता दोब्बर पारे। उनले पनि सञ्‍जोककै पासमा गोल गरे। त्यसको तीन मिनेटपछि निकोलस फर्नान्डेजको प्रहारमा क्रस बारमा लाग्न पुग्दा जावलाखेलले खेलमा फर्किने अवसर गुमायो।

तर, ५५ औं मिनेटमा निकोलसले गोल गर्दै अन्तर घटाएका थिए। इन्ज्युरी समयको दोस्रो मिनेटमा गौरव श्रेष्ठको हेडर थ्रीस्टारका जीवन गुरुङले गोल लाइनबाट क्लियर गर्दा जावलाखेलले बराबरी गर्ने अवसर गुमायो। जावलाखेल ७ अंकसहित नवौं स्थानमा यथावत् छ। थ्रीस्टार सात खेलमा १० अंकसहित पाँचौ स्थानमा उक्लिएको छ।