शिक्षक सेवा आयोगले लिएको परिक्षामा पहिलो र दोश्रो भएकाले पास गर्ने सिकाए यस्तो तरिका

  • प्रकाशित मिति : २०७८ पुष १७, शनिबार
  • chhanbin.com

शिक्षक सेवा आयोगले १७ बर्ष पछि २०७० सालमा गरेको शिक्षक छनौटको प्रकृयामा देशभरका ४ लाख ८० हजार सात सय ५८ जनाले आवेदन दिएका थिए । लिखित, मौखिक र कक्षा अवलोकनबाट १३ हजार ५९ जना स्थायी शिक्षकमा छानिए । त्यस मध्येमा दुई व्यक्ति विशेष थिए गौतम महर्जन र अनिता पौडेल । जसले हजारौँको भीडबाट आफ्नो नाम पहिलो र दोस्रो नम्बरमा निकाल्न सफल भएका थिए । ती दुई जनाले कसरी पहिलो र दोश्रो नम्बरमा नाम निकाले ? यस्तो छ उनीहरुको कुरा।

आखिर के थियो त्यस्तो जसले उनीहरुलाई त्यत्रो भीड पन्छाएर पहिलो र दोस्रो स्थान दियो ?

‘मिहिनेत र उत्तर दिने सिर्जनात्मक शैली,’ दुवैको अनुभवले भन्छ, ‘घोकेर भन्दा बुझेर उत्तर लेख्ने हो भने सफलता पाइन्छ । बजारमा निस्केका शैक्षिक सामग्री पढ्नु नराम्रो होइन तर हुबहु त्यसैलाइ सार्नु वा नक्कल गर्नु चाँहि त्यति लाभ दायक हुदैन ।’

आयोग दिनु अघि चाहिँ उनीहरुलाई यसरी पहिलो र दोस्रो नम्बरमा नाम निकाल्न सकिएला भन्ने लागेको थिएन । कारण भेट्ने जति सबै भन्थे, पढेर र मिहिनेत गरेर के गर्नु । सोर्स फोर्स नभइ नाम निस्कने होइन ।

सबैले यसो भने पछि उनीहरुलाई पनि लागेको थियो, हो कि । मिहिनेत खेर पो जाने हो कि ?

‘सबैको कुरा एउटै आएपछि नामनिस्केलाजस्तो लागेको थिएन,’ सामुदायिक विद्यालयमा पढाउँदै आएका ललितपुरका गौतम महर्जनले भने, ‘मेरै अनुभवले पनि त्यो कुरालाई थप प्रमाणित गरेको थिो । खाली दरबन्दी भएको ठाउँमा जागिर खान गएको थिए । तर पहिल्यै कसलाई ल्याउने भन्न तय भइसकेको रहेछ । पछि चिनिजानका मान्छेले त्यहाँ जागिर खाने रहर रहेछ त हामीलाई भन्नु पर्दैन भनेर मलाई थकथक पारेका थिए ।’

कुरा सुने । मनको एक कुनामा शंका पनि बोके तर हिम्मत हारेनन् । भर्खर ब्याचलर सकेर पढाउनै थालेको, उत्साह र शिक्षक बन्छु भन्ने दृढ चाहना बोकेको फ्रेस केटो, लाख मान्छे कै हुलमा मिसिएर आवेदन गर्‍यो र नतिजामा आफूलाई एक नम्बरमा निकाल्न सफल भो । पाटन हाई स्कुलमा निमावि अस्थाई दरबन्दीमा पढाएका गौतम आयोग लडेर निमाविमा पहिलो नम्बरमा नाम निकाली लगनखेलको नमूना मच्छिन्द्र माविमा पढाए । भन्छन्, ‘त्यति धेरैका वीच एक नम्बरमा आउँदा खुसी त लागिहाल्छ नि ।’

माध्यमिक तर्फ अँग्रेजी विषय शिक्षकमा दुई नम्बरमा नाम निकालेकी अनिता पौडेललाई पनि संधै भरी एउटै कुराले सताउँथ्यो – मेहनेत गरेर त पढेँ तर नाम निस्कन सोर्स फोर्स चाहिन्छ भन्छन् आफ्नो केही छैन, कोही छैन । २०६४ सालदेखि निजी विद्यलायमा अंग्रेजी पढाई रहेकी उनले हिम्मत हारिनन् । त्यो हिम्मत बढाएको थियो उनको पढाउने कलाले ।

सोर्स फोर्सको चर्चाले मनमा चिन्ता घटेको थिएन

उनलाई अहिले पनि याद छ, जाँच दिन परीक्षा हल छिर्ने बेलामा एक जना साथिले भने, ‘केही हुन्न ? परीक्षामा सहभागि हुने मात्र हो, यो सबै पावरमा नाम निस्कने हो । यो त एउटा औपचारिकता मात्रै हो ।’

आफूले मेहेनत गरेको छ, परीक्षाहलमा यस्तो सुनिन्छ, उनले भनिन्, एकातिर परीक्षाको दवाव अर्कातिर यस्ता हल्लाहरुको । यति धेरै मेहेनत गरेँ व्यर्थ पो हुने हो कि भन्ने पनि मनमा लाग्यो ।

जब नाम निस्क्यो उनी छक्क परिन् अनी मनमै भनिन् ‘ए मेहनेत गर्यो भने नाम निस्कदों रैछ । उनी खुसी भईन् ‘किन भने हाम्रो त कोही पनि छैन कुनै पावर लिँक केही छैन । त्यसैले शिक्षक आयोग निष्पक्ष भयो भन्नेमा मा विश्वस्त भएँ ।’

गौतमले अस्थाई दरबन्दीमा पढाएको त्यहि पाटन हाईस्कुलमा हिजो आज पौडेलले पढाउँछिन् । मनमा उत्साह छ, केही नयाँ गरौं, सामुदायिक विद्यालयको गिर्दो शाख उचो बनाउँ भन्नेमा उनी लागेकी छिन् ।

कसरी जिते लाखको भीड ?

‘मेहनत नै हो,’दुवैको तर्क एउटै थियो, ‘कक्षा कोठामा आफूले पढ्दा वा पढाउँदाका हरेक अनुभवले शिक्षक सेवा आयोगको परीक्षामा सघाउँछ ।’

‘पढाउन थालेको धेरै बर्ष भईसक्यो । पब्लिक स्कुलमा मात्रै सात बर्ष पढाएँ,’ लाखौको भीडबाट फुत्त नम्बर १ भएर निस्केका गौतमले भने,‘सबै भन्दा मुख्य कुरो त मेहनेत नै हो । त्यो मेहेनत ठिक ठाउँमा गर्नु पर्यो लेसन प्लान गरेर गर्नु पर्यो । मलाई त कक्षा कोठामा पढाई राखेको विषय बस्तुले पनि सघाउ पुर्यायो । परीक्षामा कसरी लेख्ने भन्ने कुरा कक्षा कोठामा पढाएको र आफैंले कलेजमा पढेको कुरालाई फ्ल्यास ब्याकको रुपमा लिएँ । त्यही अनुभवलाई परीक्षामा उतारे ।’

उनको सुझाव के छ भने, पढाइ राखेकाहरु लाई पनि केही अलमलहुन सक्छ । उनलाई पनि अब्जेक्टिभ प्रश्नमा त्यस्तो भएको थियो ।

‘म पढाईराखेको भएर पनि अब्जेक्टिभ प्रश्नमा अलि अलमलिएँ । त्यसलाई चाँही सम्झनु नै पर्ने रहेछ’, उले भने, ‘अरु प्रश्नका लागि घोक्न भन्दा पनि मिलेर छलफल गरेर पढ्दा बढी स्पष्ट हुन्छ । विषय बस्तुको जानकारी र कन्टेण्टमा क्लियर हुन यस्ता सामुहिक पढाई राम्रो हुँदो रहेछ मेरो अनुभव छ ।’

उनी के पनि भन्छन् भने आयोग लड्ने तयारीमा रहेका साथीभाईसँग आईडिया सेयरिङ् गर्दा गर्दै आयोगमा नाम निकाल्न सहयोग पुग्यो उनलाई ।

अनितालाई पनि लाखौं लाई जितेर दोस्रो हुन शिक्षण अनुभवले सघायो । ‘शैक्षिक गुठि अन्तर्गतको विद्यालयमा पढाउँथे । २०६४ साल देखि नै । सानो ठिमी क्याम्पस भक्तपुरबाट स्नातकोत्तर सकेकी छु’ , उनले आफ्नो अनुभव सुनाइन्, ‘किन किन मलाई मेरो काम नै पढाउने हो जस्तो लाग्छ । भित्रै देखि गर्न मन लागेको काममा मन अडिदों रहेछ । मेहनेत गर्न मन लाग्दो रहेछ । मेहनत नै हो ।’

उनलाई सोधियो, आयोगमा प्रतिस्पर्धा गर्ने परीक्षार्थीले के कुरामा ध्यान दिनु पर्दो रहेछ ?

‘सबै भन्दा पहिला त म शिक्षक हुन लाग्दै छु भन्ने मनै बाट स्विकार गर्नु पर्यो । यो एक प्रकारको विशिष्ठ काम हो’, अनिताको अनुभव खुल्यो, ‘यहाँ आफूले गरेको गल्तिले सँयौंको जीवन बर्बाद हुन्छ, समाजको रुप विगार्ने वा बनाउने एउटा शिक्षकको हातमा हुन्छ भन्ने कुरा बुझे पछि मात्रै आयोगको तयारी थाल्नु पर्छ ।’

एउटा मात्रै कुराले शिक्षकको परीक्षामा पास हुन सकिन्न । त्यसका लागि धेरै थोक को ज्ञान जरुरी छ । उनको विचारम विषयबारे ज्ञान हुने भएकाले शिक्षा शास्त्र नै पढेकालाइ धेरै सहज हुन सक्छ । उनले भनिन्, ‘म धेरै भन्दा धेरै शैक्षिक सामाग्रीहरु पढ्ने, विभिन्न पत्रपत्रिकाहरुमा आएका शिक्षा सम्बन्धि समाचार, लेख पढ्ने गर्थे । कोर्षको तयारी पनि बुझेर गरें । घोक्न भन्दा पनि बुझ्न पट्टि लागेँ । सबै भन्दा मुख्य कुरो त म शिक्षक हुन्छु भनेर मनै देखि विश्वास लिएँ ।’