राजेन्द्र लिङदेनले राप्रपाका चार नेतालाई कोर्रा हानेपछि कमल थापाको यसरी फुट्यो भक्कानो

  • प्रकाशित मिति : २०७८ पुष १७, शनिबार
  • chhanbin.com

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारी बैठकले गरेको निर्णय अवैधानिक भएको आरोप यस पार्टीका पूर्वअध्यक्ष कमल थापाले लगाएका छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले राप्रपा काभ्रे जिल्ला अध्यक्ष टुल्कु लामा, उपाध्यक्षद्वय श्रीदास लामा र गंगामाया लामा तथा सचिव धनजित लामालाई गरेको कारबाहीप्रति थापाले आपत्ति जनाएका हुन्।

यही पुस १४ गते बसेको राप्रपाको काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिको विशेष बैठकले गरेको सिफारिसअनुसार राप्रपाको केन्द्रीय पदाधिकारी बैठकले उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निकालेको हो। त्यस्तो अधिकार पदाधिकारी बैठकलाई राप्रपाको विधानले नदिएको दाबी गर्दै पूर्वअध्यक्ष थापाले विरोध जनाएका हुन्।

‘राप्रपा काभ्रे जिल्ला अध्यक्ष टुल्कु लामा र गाउँपालिकाका दुई निर्वाचित वडाध्यक्षहरूलाई स्पष्टीकरण दिने अवसर नै नदिई पार्टीबाट निष्कासन गर्ने पदाधिकारी बैठकको निर्णय अवैधानिक र पार्टी हित विपरीत छ’, थापाले शनिबार सामाजिक सञ्जालमार्फत भनेका ‘सो निर्णयप्रति खेद व्यक्त गर्दछु। पदाधिकारी बैठकलाई विधानले त्यस्तो अधिकार दिएको छैन।’