प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राज्यको हरेक निकायमा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्ने नेपाल एउटा मात्रै देश भएको बताएका छन् । नेपालले महिला मात्रै नभएर दलित, जनजाति, आदिवासी सबैको अत्यन्तै समावेशी र समानुपातिक ढंगले राज्यका र पार्टीका हरेक तहमा प्रतिनिधित्व गराएको दाबी पनि प्रधानमन्त्री देउवाले गरे ।
शनिबार आफ्नै सरकारी निवास बालुवाटारमा पार्टीका सांसद एवम् नेतृ डा. डिला संग्रौलाद्वारा लिखित पुस्तक ‘नेपालीका सपना अधुरै’ को विमोचन गर्दै उनले मुलुकको कार्यकारी तहहरूमा समेत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित हुने गरी आरक्षणको व्यवस्था गरेर नेपाल र नेपाली कांग्रेसले आफूलाई सबै समुदायको पार्टीको रूपमा चिनाएको उनले बताए ।
प्रधानमन्त्री देउवाले भने, ‘नेपाल मात्रै एउटा यस्तो देश हो, जुन देशमा ३३ प्रतिशत महिलाहरू हरेक ठाउँमा उनीहरूलाई अधिकार दिइएको छ, र उनीहरूले पाउँछन । नेपालमा पार्टीहरूले पनि ३३ प्रतिशत महिलालाई आरक्षण दिएका छन् । स्थानीय तहमा हेर्ने हो भने ४०/४१ प्रतिशत महिलाहरूलाई आरक्षणको व्यवस्था छ । राष्ट्रपति र उपराष्ट्रपतिमा एउटा महिला, सभामुख र उपसभामुखमा एउटा महिलालगायत धेरै ठाउँमा मेयर र उपमेयरमा एउटा महिला, त्यस्तै गाउँपालिकादेखि लिएर सबै ठाउँमा महिलाहरूंलाई हामीले आरक्षणको व्यवस्था गरेका छौँ । अगाडि बढाएका छौँ । यस मानेमा नेपाल मात्रै एउटा यस्तो देश हो, जहाँ अत्यन्तै समावेशी, समानुपातिक रूपमा दलित, आदिवासी, जनजाति सबैलाई आरक्षणको व्यवस्था गरिएको छ ।’
प्रधानमन्त्री देउवाले महिला नेतृहरूले महिला मतदाताहरूको संख्या बढाउन पनि उल्लेखनीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।