अनलाइन सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने मन्त्री कार्कीको भनाई

  • प्रकाशित मिति : २०७८ पुष १७, शनिबार
  • chhanbin.com

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनलाइन सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन्।

नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले अनलाइन सञ्चार माध्यामलाई पनि लोककल्याणकारी विज्ञापन दिने सरकारको नीतिलाई कार्यान्वयनमा लैजान आवश्यक तयारी भइरहेको बताएका हुन्।

अनलाइन पत्रकार संघ, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले अनलाइन सञ्चार माध्यमलाई विश्वासनीय, जवाफदेही र मर्यादित बनाउन विशेष पहलकदमी लिन पत्रकारहरुलाई आग्रह गरे।

उनले अनलाइन सञ्चार माध्यमलाई मर्यादित बनाउन सरकारले पत्रकारहरुसँगै मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे। वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र श्रमजीवि पत्रकारहरुको पक्षमा सधैं दृढतापूर्वक उभिने उनले बताए।

‘अनलाइन सञ्चार माध्यामलाई अन्य सञ्चार माध्याम सरह सरकारले लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने घोषणा र प्रतिवद्धता व्यक्त गरिसकेको छ। यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवश्यक तयारी र गृहकार्य गरिराखेको छ’ उनले भने, ‘अनलाइन सञ्चार माध्यमलाई जवाफदेही र मर्यादित बनाउन आजको आवश्यक्ता हो।’

मन्त्री कार्कीले मुलुकको विकास र समृद्धिका लागि सञ्चार माध्यामसहित सबैले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्ने बताए। उहाँले मुलुकमा दीगो शान्ति, विकास, सुशासन र समृद्धि भएमात्रै सञ्चार क्षेत्रको भविष्य सुरक्षित हुने स्पष्ट पारे।