प्रचण्डलाई आफैं देखि लाग्न थालेछ हैरानी, किन बारम्बार भन्छन् दिन तयार छु अझै ‘बलिदानी’ ?

  • प्रकाशित मिति : २०७८ पुष १६, शुक्रबार
  • chhanbin.com

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताका सपना पूरा गर्न आफू जस्तोसुकै बलिदान गर्न पनि तयार भएको बताएका छन्। जारी आठौं महाअधिवेशनमा समूहगत छलफलको प्रस्तुतिपछि जवाफी सम्बोधन गर्दै प्रचण्डले माओवादी आन्दोलन जतिसुकै बिग्रेको भएपनि ‘क्रान्तिकारी पार्टी’ निर्माणका लागि त्याग गर्न तयार रहेको बताए।

‘कतिपयले प्रचण्ड फेरि झुपडीमा जान सक्ला त ? चिल्लो गाडि छोड्न सक्ला त ? काठमाडौंको रमझम छोडन सक्लान् त ? भनेर पनि भन्ने गर्छन्’ उनले भने, ‘तर म के भन्न चाहन्छु भने जरुरी पर्दा मलाई गाउँघरमा जान, उनीहरूसँगै बस्न, मजदुरसँग खान, जनतामाझ गएर बस्न कुनै गाह्रो छैन। यो पार्टीलाई क्रान्तिकारी बनाउन, जस्तासुकै त्याग, कष्ट र बलिदान गर्न तयार छु। म यो अन्तिम अवसर गुम्न दिन्नँ।’

पार्टीमा कतिपय विचलन आएपनि माओवादी मूल चरित्र यथास्थितिवादी र सुधारवादी नभएको उनले बताए।

‘हाम्रो यात्रामा म सुधारवाद देख्दिनँ । यसमा म छलाङ र गतिशिलतामात्रै देख्छुू’ उनले अगाडि भने, ‘कतिपयले अराजकता या अस्थिरतावादी पनि भन्छन् तर २०४५ सालमा सानो समूहबाट २०५२ सालमा जनयुद्ध सुरु गरेर शान्तिप्रक्रिया हुँदै गणतन्त्रको स्थापना, संविधानको निर्माण गरेर आजको अवस्थासम्म पुग्नु गतिशिलता हो कि अस्थिरता ? त्यसैले यो गतिशिलतामा जरुरी पर्दा आफ्नै टाउकोमा आगो लगाएर हिँडन हामी तयार छौं। हामी अहले पनि एउटा छलाङ हान्न खोजिरहेका छौं।’

प्रचण्डमा बेचैनी बढेको र हरेश खाएको जस्तो भान हुने गरिको लवज निस्किएको एक नेताले बताए। भित्र भित्रै हार खाएर बाहिर बलियो बाङ्गो देखाउन प्रचण्डले अनेक प्रयत्न गर्दै आएका छन्।