बुधबार बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु आज सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बुधबार मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गरेका हुन् ।
सार्वजनिक निर्णय अनुसार कृषि मन्त्रालयका वरिष्ठ कृषि सेवा माटोविज्ञ डा. गंगादत्त आचार्यलाई सार्क एग्रिकल्चर प्रोग्राम ढाकामा काजमा खटाइएको छ । यस्तै, निर्वाचन आयोग सम्बन्धी विधेयक तर्जुमा गर्ने सैद्धान्तिक सहमति पनि प्रदान गरिएको मन्त्री कार्कीले जानकारी दिए ।
बुधबारकै बैठकले सुर्खेतको साविक लेकफर्सा, काँफलकोट र लेकपराजुल गाविसको जग्गा प्रशासन सम्बन्धी सम्पूर्ण कामकागको जिम्मेवारी मालपोत तथा नापी कार्यालय मेहलकुनालाई हस्तान्तरण गर्ने निर्णय गरिएको छ ।
यस्तै, १३ दिनका लागि कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी बालाधिकृत रथी बालकृष्ण कार्कींलाई दिने सिफारिस पनि गरिएको छ । प्रधानसेनापती पुस १८ गतेदेखि ३० गतेसम्म घरबिदामा बस्ने भएकाले उनको जिम्मेवारी कार्कीलाई कायममुकायम प्रधानसेनापतीका रुपमा जिम्मेवारी दिन राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ ।
यस्तै सोलुखुम्बुको डा. लामाजुरा सडक खण्डको ट्रयाक खोल्न त्यस क्षेत्र अन्तर्गत पर्ने वनको २.५ हेक्टर प्रयोगका लागि पनि मन्त्रिपरिषद्ले स्वीकृति दिने निर्णय गरेको कार्कीले जानकारी दिए ।
बुधबारकै मन्त्रिपरिषद्ले लामो समयदेखि अन्योलमा रहेका चिकित्सा क्षेत्रका विद्यार्थीलाई पनि सहज बनाएको छ । चीन तथा अन्य देशमा चिकित्सा शिक्षामा एमबीबीएस गरेका विद्यार्थीलाई अभ्यास, इन्टर्न लगायत पूरा गर्न स्वीकृति दिने निर्णय गरिएको छ ।
र आदीकवि भानुभक्त आचार्यको जन्मस्थल निर्माण विकास समितिको अध्यक्षमा श्रीराम पन्त र कार्यकारी निर्देशकमा शंकर रानाभाटलाई नियुक्त गर्ने निर्णय गरिएको मन्त्री कार्कीले जानकारी दिए ।