ए डिभिजन लिगमा आजबाट सातौं चरणका खेल हुँदै, को-को भिड्दैछन् ?

  • प्रकाशित मिति : २०७८ पुष १६, शुक्रबार
  • chhanbin.com

सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबारबाट सातौं चरणका खेल हुँदै छन् । पहिलो खेल विभागीय डर्बी क्लब एपिएफ र त्रिभुवन आर्मी फुटबल क्लब आमने सामने हुँदैछन् । आर्मीले क्लब लाइसेन्स पाए पनि यो सिजन एएफसी छनोट खेल्ने मौकाबाट बञ्चित भएको छ । यद्यपि ए डिभिजन लिग उपाधि होडमा भने हुनेछ ।

शुक्रबार दशरथ रंगशालामा पहिलो भेट विभागीय डर्बी क्लब एपिएफ र त्रिभुवन आर्मीले खेल्दा सहिद स्मारक ए डिभिजन लिगमा सातौं चरणका खेल आरम्भ हुनेछन् ।

एएफसी छनोट खेलको होडबाट बाहिरिएको आर्मीले एपिएफलाई दबाबमा राख्दै तीन अंक जोड्ने लक्ष्यमा हुनेछ । यद्यपि अघिल्लो खेलमा निकालेको नतिजाका कारण आर्मी ससंकित छ । आर्मीका प्रशिक्षक राजु तामाङले एपिएफविरुद्ध स्पष्ट तीन अंकका लागि खेल्दै उपाधि होडलाई निरन्तरता दिने बताए ।

यस्तै दिनको दोस्रो खेल तालिकाको रेड जोनमा रहेको फ्रेन्ड्स र न्यूरोड टिम (एनआरटी) बीच हुँदैछ ।

यता चिरपरिचित प्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दीलाई हराउँदै एएफसी छनोटलाई सहज बनाएको मच्छिन्द्रले यसै चरणको खेलमा विभागीय टोली नेपाल पुलिसको सामना गर्दैछ । लक्ष्य उपाधि भएको भन्दै मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले तीन अंकका लागि खेल्ने बताए ।

यता पुलिस प्रशिक्षक अनन्तराज थापाले मच्छिन्द्रसँगको खेल निकै महत्वपूर्ण भएको भन्दै वरीयता सुधारका लागि आफ्नो टोलीलाई गर या मरको अवस्था भएको बताए । त्यसका लागि जित्ने पर्ने दबाब भएकाले आफ्नो टोली तीन अंकका लागि खेल्ने बताए ।

छैठौं चरणका खेल सकिँदा सम्म जारी सहिद स्मारक ए डिभिजन लिगमा साविक विजेता मच्छिन्द्र १४ अंकका साथ तालिकाको शीर्ष स्थानमा अटाउँदा, सातौ चरणमा पोखरा मैदानमा बिबिसीसँग खेल्ने टोली मनाङ १३ अंकका साथ दोस्रो स्थानमा छ ।

यस्तै अपराजित टोली संकटा १२ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहँदा दुई अंकले पछि रहेको आर्मी तालिकाको चौंथो स्थानमा छ । यसै सिजन बढुवा भएको सातदोबाटो ८ अंकका साथ पाँचौ स्थानमा छ ।