१५ करोड पर्ने सरकारी जग्गा बेच्ने हाकिमलाई मन्त्री झाँक्रीले चड्कन हान्न मन्त्रालय तानिन्

  • प्रकाशित मिति : २०७८ पुष १५, बिहीबार
  • chhanbin.com

राष्ट्रिय आवास कम्पनी लिमिटेडको स्वामित्वमा रहेको नवलपरासीस्थित दाउन्नेदेवीको करिब १५ करोड मूल्य पर्ने सरकारी जग्गा गैरकानुनी रुपमा बिक्री गर्ने निमित्त योजना प्रमुख महेन्द्र थापालाई मन्त्रालय तानिएको छ ।

योजना कार्यालय नवलपरासी माकरका निमित्त योजना प्रमुख थापाले कावासोती नगरपालिका (साविक दाउन्नेदेवी गा.वि.स. ९ ङ ) को कित्ता नम्बर ३८८ को १५ कट्ठा जग्गा नक्कली कागजात तयार गरी गुपचुप रुपमा संजय क्षेत्रीलाई बिक्री गरेका थिए ।

प्रतिकट्टा हालको चलनचल्तीको मूल्य १ करोड नै पर्ने उक्त जग्गा थापाले राष्ट्रिय आवास कम्पनीको संचालक समितिको निर्णय बिपरीत कीर्ते कागजात तयार गरी क्षेत्रीलाई बिक्री गरेका थिए ।

भूमाफिया क्षेत्रीसँग प्रतिकट्ठा चलनचल्तीको मूल्यको आधा घुस लिएर उक्त जग्गा कीर्ते कागजात तयार गरी बिक्री गरिएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयमा उजुरी परेको थियो । अख्तियारको बुटवल कार्यालयले कम्पनीको जग्गा गैरकानुनी रुपमा बिक्री गरिएकोबारेमा जानकारी माग्दै पटक पटक ताकेता गर्दा पनि राष्ट्रिय आवास कम्पनीलाई पछिल्लो पटक २०७८ असार ८ मा अर्को पत्र पठाएको थियो ।

अख्तियारको पत्रपछि कम्पनीले कानुन अधिकृत भोलानाथ तिवारीको संयोजकत्वमा ५ सदस्यीय समिति बनाई छानबिन गरेको थियो । छानबिनका क्रममा कम्पनीकै योजना कार्यालयका कर्मचारीले कीर्ते कागज तयारी गरी बिक्री गरिएको जग्गा नदेखाउने जस्ता सहयोग गरेको उल्लेख गरेको छ ।

कम्पनीको योजना कार्यालय माकरका प्रमुख थापा, नलवपरासी नापी र मालपोत कार्यालयले समेत आवश्यक कागजात छानबिन समितिलाई नदिएको प्रतिवेदनमा उल्लेख छ । अख्तियारको पत्र देखाउँदा पनि कम्पनीका माकर कार्यालयका योजना प्रमुख महेन्द्र थापाले छानबिन समितिलाई सहयोग नगरी धम्की देखाउने कार्य गरेका थिए ।

राष्ट्रिय आवास कम्पनीको संचालक समितिको बैठकले स्वीकृतिविना कुनै पनि जग्गा बिक्री बितरणन नगर्ने निर्णय गरेको थियो । तर नवलपरासीको माकरका निमित्त योजना अधिकृत महेन्द्र थापाले कम्पनीको स्वीकृतिविना नै दाउन्नदेवीको १५ कट्ठा जग्गा घुस लिएर बिक्री गरेपछि उनीबिरुद्ध अख्तियारले छानबिन गरेको हो ।

निमित्त योजना प्रमुख थापा र सहायक लेखापाल डेनिससागर अधिकारीले नवलपरासी क्षेत्रको उक्त अति मूल्यवान जग्गा कीर्ते कागजात तयार गरी गुपचुप रुपमा संजय क्षेत्रीलाई बिक्री गरेका थिए । उक्त जग्गाको रेकर्ड समेत कम्पनीमा नरहेको छानबिन समितिको रिपोर्टमा उल्लेख छ । कम्पनीको जग्गाको रेकर्डसमेत नराखी बिक्री गर्ने थापा र अधिकारीका बिरुद्ध अख्तियारले छानबिन गरी मुद्दा दायर गर्ने तयारी गरेको छ ।

साविक पुनर्वास कम्पनी हाल राष्ट्रिय आवास कम्पनीको नाममा रहेको कावासोती नगरपालिका(दाउन्नेदेवी गाविस) ङको कित्ता नम्बर ४ को ४ बिगाहा १८ कट्ठा १२.७५ धुर जग्गामध्ये प्लानिङ गरेर संचालक समितिको निर्णयबमोजिम बेच्नुपर्ने थियो । तर उक्त जग्गामध्येबाट १५ कट्टा योजना प्रमुख थापा र सहायक लेखापाल अधिकारीले संजय क्षेत्रीलाई सुटुक्क बिक्री गरेका थिए ।

राष्ट्रिय आवास कम्पनी सहरी विकास मन्त्रालय अन्तर्गत पर्दछ । कम्पनीको स्वामित्वमा रहेको र हाल प्रचलित मूल्यांकनमा १५ करोड पर्ने उक्त जग्गा घुस लिएर गैरकानुनी रुपमा बिक्री गर्ने थापालाई सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले नवलपरासीको योजना कार्यालयबाट मन्त्रालयमा तानिसकेकी छन् ।

थापालाई केही कुरा बुझ्नुपर्ने भएकाले मन्त्रालयको निर्देशन अनुसार राष्ट्रिय आवास कम्पनीमा तानिएको महाप्रबन्धक नारायण बास्तोलाले बताए । उनले भने–‘म कम्पनीमा नियुक्त हुनुअघि नै उक्त जग्गा बिक्री गरिसकिएको रहेछ । अख्तियारले छानबिन गरिरहेको र मन्त्रालयले फिर्ता बोलाउनू भनेकाले थापालाई तानिएको हो ।’

कावासोतीको उक्त जग्गा गैरकानुनी रुपमा बिक्री लाभ लिने राष्ट्रिय आवास कम्पनी नवलपरासी योजना कार्यालयका निमित्त प्रमुख महेन्द्र थापा मुख्य नाइके रहेको खुलेको छ । उनलाई उक्त कार्यालयकै सहायक लेखापाल डेनिसकुमार अधिकारीले सहयोग गरेका छन् । सरकारी जग्गा नापनक्सा गरी गैरकानुनी रुपमा बिक्री गर्न सघाउनेमा नापी कार्यालय बर्दघाटका तत्कालीन प्रमुख सुग्रिव यादव(हाल मनमैजु नापी कार्यालयका प्रमुख) पनि हुन् ।

थापा, अधिकारी र यादवको मिलेमतोमा राष्ट्रिय आवास कम्पनीको जग्गा गैरकानुनीरुपमा बिक्री गर्ने, अदालतमा मुद्दा दायर गर्ने र मिलापत्रका नाममा ब्यक्तिका नाममा दर्ता गर्ने कार्य विगत १० बर्षदेखि भइरहेको छ । यसरी सरकारी जग्गा बिक्री गर्ने गिरोहमा नापी र मालपोत कार्यालयसमेतको मिलेमतो देखिएको छ ।