माओवादी महाधिवेशनले निर्वाचनको साटो टिकाटालो गर्ने, नियुक्त गर्दै अध्यक्ष र केन्द्रीय कमिटी भर्ने

  • प्रकाशित मिति : २०७८ पुष १५, बिहीबार
  • chhanbin.com

नेकपा माओवादी (केन्द्र) को आठौं महाधिवेशनबाट पदाधिकारीमा निर्वाचन नहुने देखिएको छ। अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वसम्मत हुँदा महाधिवेशनले पदाधिकारी भने चयन गर्ने सम्भावना बढेर गएको छ। “निर्वाचनबाट पदाधिकारी चयन हुने सम्भावना कम छ,” माओवादीका एक नेताले बताए।

आठौं महाधिवेशनअन्तर्गत आज पनि सामूहिक छलफलको निष्कर्ष सुनाउने कार्यक्रम छ। १२ पुसमा अध्यक्ष दाहालले प्रस्तुत गरेको पार्टीको राजनीतिक प्रतिवेदनउपर १३ र १४ पुसमा २५ समूहले सामूहिक छलफल गरिएको थियो।

सामूहिक छलफलपछि १४ पुसबाट छलफलको निष्कर्ष सुनाउने क्रममा ११ समूहको निष्कर्ष सुनाउने क्रम सकिएको छ। भने १४ समूहको निष्कर्ष आज (बिहीबार) सुनाउने कार्यक्रम छ। निष्कर्ष सुनाउने कार्यक्रमपछि आजै नेतृत्व चयन प्रक्रिया थालिने पार्टी निर्वाचन समितिले जनाएको छ।

आज निर्वाचन प्रक्रिया शुरु हुने जनाइए पनि अध्यक्ष र केन्द्रीय कमिटीमा मात्रै अनुमोदन गरिने पार्टीका एक नेताले जानकारी थिए। “महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय कमिटीको मात्रै चयन हुने बुझिएको छ,” स्रोत दाबी गर्छ। केन्द्रीय कमिटीको पहिलो बैठकले पदाधिकारी चयन गर्ने तयारी भएको उनी दाबी गर्छन्।

महाधिवेशनको दोस्रो दिन अर्थात् १२ पुसमा नेता देव गरुङले पार्टीको विधान संशोधन प्रस्ताव गरेका थिए। यसअघि पार्टीमा ५ पदाधिकारी रहेन व्यवस्थालाई संशोधन गर्दै पदाधिकारी संख्यालाई १५ पुर्‍याउने निर्णय गरेको थियो। पदाधिकारी संख्या बढाउने निर्णय गरे पनि महाधिवेशन हलले भने पदाधिकारी चयन गर्ने तयारी नभएको हो।

माओवादीको आठौं महाधिवेशनमा उपाध्यक्ष र महासचिव पदका लागि रसाकस्सी छ। संशोधित विधानअनुसार पार्टीमा एक वरिष्ठ उपाध्यक्षसहित ६ उपाध्यक्ष राख्ने प्रस्ताव गरिएको छ। उपाध्यक्ष पद आलंकारिक भएका कारण नेताहरूको चासो भने महासचिव पदमा रहेको देखिन्छ। पार्टीका प्रभावशाली नेता महासचिव पदको ‘लबिङ’ मा छन्। कृष्णबहादुर महरा, जनार्दशन शर्मा, वर्षमान पुन र पम्फा भुसालमध्ये एक जना महासचिव नियुक्त हुने धेरैको आकलन छ।

यद्यपि, महरालाई उपाध्यक्ष पदमा व्यवस्थापन गर्ने सम्भावना रहेको पनि पार्टीका नेताहरू बताउँछन्। यता भुसालको पनि उपाध्यक्षमा नै व्यवस्थापन हुने सम्भावना रहेको छ। ७ उपाध्यक्ष पदलाई समावेशी हिसाबमा व्यवस्थापन गर्दा एक महिलालाई उपस्थित गराउनु अनिवार्यजस्तो देखिन्छ। यस्तोमा भुसालले नै त्यो पदका लागि उर्पयुक्त पात्र भएको चर्चा छ। भुसालसँगै उपाध्यक्षका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठको पनि सोही पदमा चर्चा छ।

यता महासचिव पदमा भने हालसम्मको अवस्थामा जनार्दन शर्मा र वर्षमान पुनमध्ये एकको सम्भावना बढी देखिएको माओवादी नेताहरू बताउँछन्। शर्मा वहालबाला अर्थमन्त्री हुन्। पुन भने हाल उपचार क्रममा चीनको सेन्जनमा छन्। केही समययता उनको स्वास्थ्यमा समस्या निम्तिएका कारण उनी उपचारका क्रममा चीनमा छन्।

पुनको स्वास्थ्यलाई कारण देखाउँदै शर्माले महासचिव पदमा बाजी मार्न सक्ने सम्भावना बढी देखिन्छ। तर, कृष्णबहादुर महरालाई नै अध्यक्ष दाहालले अघि बढाउन सक्ने सम्भावनालाई नकार्न नसकिने पार्टीका नेता बताउँछन्।