प्रचण्ड र माधवलाई पन्छाएर सभामुखलाई किक हान्ने सम्मको बन्यो यस्तो योजना

  • प्रकाशित मिति : २०७८ पुष १५, बिहीबार
  • chhanbin.com

अमेरिकी राजदूत रेन्डी बेरीले एमसीसीबारे छिटो निर्णय लिन नेपाल सरकारमाथि दबाब बढाउदै दौडधूप चर्को बनाएका छन् ।

देउवा सरकारलाई टेको हालेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी एमसीसीप्रति सकारात्मक नदेखिएपछि बेरीले प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई बुधबार कार्यकक्षमा भेटेर एमसीसीबारे चासो राखेका हुन् । कार्की अर्थमन्त्री हुँदा ४ वर्ष अघि एमसीसी सम्झौता भएको थियो ।

कार्कीलाई बेरीले भेट्नुमा उनको नेकपा एमालेको नेतृत्वसँगको निकट सम्बन्ध पनि कारण हो । एमसीसीको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कुरा गर्न देउवाले कार्कीलाई नै खटाएका छन् । उनले बालकोट पुगेर ओलीसँग पटक पटक भेटवार्ता गरिसकेका छन् । त्यसैले पनि बेरीले कार्की बाट खास कुरा थाहा पाउन उनलाई भेटेको जानकारहरुले बताएका छन्।

माओवादी र नेकपा एस एमसीसी यथास्थितिमा पारित गर्ने पक्षमा छैनन् । देउवा एमसीसी पारित गरिछाड्ने पक्षमा छन् । उनले माओवादीको महाधिवेशनसम्म पर्खने र त्यसपछि अगाडि बढ्ने रणनीति लिएको बुझिएको छ ।

एमसीसीमा प्रचण्ड र माधव नेपाल सहमत नभए देउवा कठोर निर्णय लिने तयारीमा रहेको बुझिएको छ । उनको ध्यान ओलीतर्फ गएको छ । एमसीसी पारित गर्ने शर्तमा देउवा र ओलीबीच गठबन्धन बन्ने सम्भावना विकास भएको छ । अमेरिकी राजदूतले ज्ञानेन्द्रबहादुर कार्कीसँग यही बेलामा भेट्नुले पनि सम्भावनाहरु देखापरेका हुन् ।

ओलीले देउवालाई एकलौटी सरकार चलाउन साथ दिने भन्दै गठबन्धन भत्काउन प्रस्ताव गरेको विषय प्रचण्डले खुलाएका छन् । यसमा पनि एमसीसी पारित सर्तसहित रहेको चर्चा छ । एमसीसी पारित नगर्ने स्पष्ट संकेत प्रचण्डले महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमार्फत् गरिसकेका छन् । प्रतिवेदनमा अमेरिकाविरुद्ध प्रचण्ड आक्रामक रुपमा प्रस्तुत गरेका छन् । उसले सैन्य रणनीति अन्तर्गतका गतिविधिहरु बढाएको विषय समावेश गरिएको छ । अमेरिकाले चीनलाई घेर्न भारतसँग सम्बन्ध सुदृढ पारेको समेत राजनीतिक प्रतिवेदनमा प्रचण्डले भनेका छन् ।

यी सबै कुरालाई निफनेर अमेरिकी राजदूतले सक्रियता बढाएका हुन्। संसद बैठक पुस १८ गते बस्दैछ। सोही दिन एमसीसी टेबुल गराउन राजदूतको भूमिका तिब्र बनेको श्रोतको भनाई छ। सभामुख अग्नि सापकोटाले आनाकानी गरे उनलाई हटाएर भएपनि एमसीसी संसद बाट पास गराउने सम्मका योजना बनिसकेको श्रोतको भनाई छ।