प्रचण्डको प्रतिवेदनको आजै मैझारो गरिने, नेतृत्व चयनको प्रक्रिया कसरी हुँदैछ शुरु ?

  • प्रकाशित मिति : २०७८ पुष १५, बिहीबार
  • chhanbin.com

नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथि बाँकी १४ समूहको छलफलको निष्कर्ष सुनाउनेक्रम सुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको प्रतिवेनमाथि २५ समूहमध्ये बुधबार ११ समूहका छलफलको सुझाव र निष्कर्ष प्रस्तुत गरिएको थियो ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा जारी महाधिवेशनमा समूहका टोली नेताले छलफलको निष्कर्ष सु्नाइसकेपछि प्रचण्डले उठेका प्रश्नको जवाफ दिएर प्रतिवेदन पारित गर्ने तयारी छ । यस्तै, स्थायी कमिटी सदस्य देव गुरुङले प्रस्तुत गरेको विधानको दस्तावेज पनि पारित गरिनेछ ।

त्यसपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । राजनीतिक प्रतिवेदन र विधानको प्रस्ताव पारित भएपछि मात्रै निर्वाचनको कार्यक्रम घोषणा गर्ने निर्वाचन समितिको तयारी छ ।