मुक्ता यादव नेपालको सबैभन्दा पुरानो र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएर निर्वाचित भइन् । त्यसअघिसम्म खासै चर्चामा नआएको नाम थियो मुक्ता यादव । कांग्रेसको खुलातर्फका प्रतिस्पर्धीलेसमेत पाउन नसकेको मत मधेसी महिलातर्फबाट लडेकी मुक्ताले पाइन् ।
चारवटै प्यानलमा रहेका डा. शशांक कोइरालाले भन्दा बढी मत मुक्ताले ल्याइन् । उनले पाएको मतले मधेसबाट अघि बढ्ने महिलालाई नै एउटा उत्साह सञ्चार गरिदिएको कांग्रेस नेताहरु नै बताउँछन् । कांग्रेसको महाधिवेशनबाट खुलातर्फको मत गणना सकिएपछि केही दिनअघिसम्म चर्चा हुँदै थियो, बीपीपुत्र डा. शशांक कोइराला ‘म्यान अफ द इलेक्सन’ हुने भए ।
कांग्रेसको महाधिवेशनमा शशांकले ४६ सय ८२ मत मध्ये ३८ सय २६ मत ल्याएर सर्वाधिक मत पाएको रेकर्ड सार्वजनिक हुँदै थियो । त्यतिकैमा मधेसी महिला तर्फको मतपरिणाम आयो । मुक्ता कुमारीले शशांकले भन्दा एकसय ३४ मत बढी पाइन् । धेरैले मुक्ताको खोजी सुरु गरे । धेरैले कांग्रेस महाधिवेशन प्रतिनिधिको प्रशंसा समेत गरे । अनि सुरु भयो मुक्ताकुमारी को हुन् ? भन्ने खोजी ।
महोत्तरीको श्रीपुर कविलाशामा सामान्य परिवारमा जन्मिएकी मुक्ताकुमारी पहिलोपटक कांग्रेसको केन्द्रीय समितिमा पुगेकी हुन् । उनीजस्तै कांग्रेस केन्द्रीय समितिमा पहिलो पटक पुग्नेको संख्या धेरै छ ।
८५ सदस्यीय केन्द्रीय समितिलाई भन्डै दोब्बर एकसय ६७ सदस्यीय बनाउँदा पनि धेरै अनुहार केन्द्रीय समितिमा पुग्न बाटो खुलेको हो । तर, केही पुराना अनुहारलाई विस्थापन गरेरै नयाँ अनुहारको पनि प्रवेश भएको छ । यो नयाँहरुको भीडमा बढी चर्चामा मुक्ता कुमारीकै नाम छ । उनको चर्चाको स्रोत हो–कांग्रेस महाधिवेशन प्रतिनिधिले उनलाई दिएको मत ।
“मलाई सबैभन्दा बढी मत आउँछ भन्ने त मैले पनि सोचेकी थिइनँ,” मुक्ता भन्छिन्, “तर, मलाई धेरै महाधिवेशन प्रतिनिधिले भोट दिनुभएछ । त्यसैले सबैले सोध्दैछन्, कसरी आयो सबैभन्दा बढी मत ?”
मतगणना भइरहेको बेला मुक्ता त्यहाँ गएर कति मत आयो भनेर हेरिरहन्थिन् । “हरेक पटक १० मत गणना हुन्थ्यो । हरेकमा ८०–८२ देखि ९०–९२सम्म त मत आइरहेका थियो,” मुक्ताले मतगणनामा बस्दाको अनुभव सुनाउँदै भनिन्, “केही सय मत गनेपछि म जित्छु भन्ने आत्मविश्वास त आएको थियो । तर, सबैभन्दा बढी मत आउला भनेर सोचेको थिइन ।”
माइतदेखि घरसम्म कांग्रेससँगकै राजनीतिसँग जोडिएको परिवार पाएकी मुक्तालाई राजनीतिमा लाग्न त्यसैले प्रेरित गर्यो । उनले विवाहपछि पढाइसँगै जागिर पनि सुरु गरिन् । राहत शिक्षकको रुपमा अध्यापनको पेशामा लागेकी मुक्ता १२ वर्षे शिक्षक जीवनमा ११ वर्ष प्राथमिक विद्यालयको प्रधानाध्यापक भएर बिताइन् ।
बुवा शिक्षक, शिक्षक भएरै कांग्रेसको निकटतालाई निरन्तरता दिए । राजनीतिमा कुनै पद लिएनन् । बरु उनले भने कांग्रेस निकटको शिक्षक संघमा दुईपटक महाधिवेशन प्रतिनिधि भएर भोट हालिन् ।
शिक्षण पेशामा रहँदा पनि उनले राम्रैसँग प्रशंसा पाउने गरेको सम्झिन्छिन् । “मलाई स्कुलमा गरेको कामबाट पनि राम्रै रेस्पोन्स आउने गरेका थियो,” मुक्ता भन्छिन्, “अनुगमनमा आउनुहुन्थ्यो इन्जिनियरहरु र सोध्नुहुन्थ्योे –अन्यत्र त यति बजेटले पुगेन भनेर काम नै भएको छैन । तपाईंले यति राम्रो काम कसरी गर्नुभयो ?”
उनले आफूले भ्रष्ट सोच नपालेका कारण त्यस्तो प्रशंसा पाएको बताउँछिन् । “महिलालई जिम्मेवारी दिनुहुन्छ भने त्यहाँ भ्रष्टाचार हुँदैन, काम पनि राम्रो हुन्छ नि,” मुक्ताले भनिन् । शिक्षक पेशामा छँदै कांग्रेस नेतृ शैलजा आचार्यसँग भेट्न पाएकी उनी नोनाआमा (शेखरकी आमा जसले कोइराला परिवारमा कांग्रेसका कार्यकर्ताका लागि व्यवस्थापकीय भूमिका निर्वाह गर्थिन्) सँग भेटेपछि राजनीतिप्रति थप उत्साही भइन् ।
कांग्रेसी परिवारमा हुर्किएर कांग्रेससँगै राजनीतिक निकटता राखेकी मुक्ता २०७० सालको संविधानसभा निर्वाचनमा कांग्रेसको समानुपातिक कोटामा पर्न सफल भइन् । संविधानसभा सदस्य भएपछि उनले प्रधानाध्यापकबाट राजीनामा दिएर शिक्षण पेशामा पूर्णबिराम लगाइन् ।
राजनीतिक व्यक्तिको रुपमा अन्तर्वार्ता दिन र सार्वजनिक मञ्चमा भाषण गर्न नतम्सिने मुक्ता व्यक्तिगत भेटघाट र कुराकानीमा भने अधिकार र कर्तव्यका कुरा गर्न तम्सिइहाल्छिन् । “मधेसीलाई कांग्रेसले माया नै गरेको छ, तर, अहिले पनि खुलातर्फ मधेसी उठ्न आँट गर्ने अवस्था बनेन, महिलाहरु पनि महिला कोटामै सीमित हुनुपर्ने अवस्था छ,” मुक्ता भन्छिन्, “कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीमा यस्तो हुनु हुँदैन । महिला, मधेसी, आदिवासी जनजाति सबैलाई मतदाताले मत दिन्छ । नेताहरुले पनि सबैलाई अघि बढाउने काम गर्नुपर्छ ।”
मधेसमा महिलामाथिको विभेद कहिले अन्त्य हुन्छ ? प्रश्न सक्न नपाउँदै मुक्ता भन्छिन्, “जबसम्म छोरा र छोरीलाई समानस्तरको शिक्षा दिइँदैन ।” “महिलालाई शिक्षा दिन सकियो भने मधेसका महिला कम्तिमा पनि म जत्तिको बन्न सक्छन्,” मुक्ताले भनिन्, “शिक्षा दिलायो भने महिला पेशा व्यवसायमा आवद्ध हुन्छन् । पेशा व्यवसाय गरेपछि उनीहरुको आर्थिक परनिर्भरता हटेर जान्छन् । त्यति भएपछि महिलालाई अघि बढ्न कसैले रोक्न सक्दैन ।”
उनले महिला शिक्षित भएर आफ्नो खुट्टामा उभिएपछि विवाह गर्ने हो भने दहेज/तिलक प्रथा आफैँ हटेर जाने उनको बुझाई छ । राजनीतिशास्त्रमा स्नातकोत्तर मुक्ता भाषण र चर्चाका लागि काम नगरे पनि आँटिली महिलाको परिचय बनाएकी छन् । सहमहामन्त्री भएका नेता महेन्द्र यादव मुक्तालाई एउटी आँटिली मात्र होइन साहसी महिलाको रुपमा प्रस्तुत गर्छन् ।
यादवले भने, “विद्यालयको प्रअ हुँदा माओवादीलाई थर्काएर पठाउने महिला हुन् ।” यादवले माओवादीलाई थर्काएको चर्चाबारे मुक्ता भने आफूले थर्काएको भन्दा पनि उनीहरुले थर्काउँदा नटेरेका स्मरण गर्छिन् ।
“१०/१२ जनाको समूहमा उनीहरु क्लासमा छिरे । मैले तपाईंहरु को हो, अनुमति नलिइ यहाँ कसरी प्रवेश गर्नुभयो भने,” मुक्ता सम्झिन्छिन्, “उहाँहरुले हामी चन्दा लिन आएको हो भने मैले चन्दा त स्कुललाई आवश्यक छ, तपाईंहरुले बैक लुट्नु भएको छ । केही दिएर जानुस् भने ।” त्यसो भन्दा थर्काएनन् – उनीहरुले थर्काउने प्रयास गरे पनि तर्क गर्न नसकेर फर्किएको उनी बताउँछिन् ।
श्रीमान् श्रीमति नै शिक्षण पेशामा रहे पनि स्थायी शिक्षक भएकाले उनका श्रीमान रामेश्वर यादव अझै शिक्षण पेशामै छन् । तर उनी भने एकपटक संविधानसभा सदस्य, अर्कोपटक राष्ट्रियसभा सदस्य भइसकेकी छन् भने अहिले सर्वाधिक मतसहित कांग्रेस केन्द्रीय समिति प्रवेश गरेकी छन् । दुईछोराकी आमा मुक्ताका कान्छा छोरा अमरेशकुमार भारतको नागपुरमा मेडिकल डक्टर पढिरहेका छन् ।
राजनीतिक जीवनमा सफल र पारिवारिक रुपमा ठिकठाक देखिने मु्क्ताको मनमा भने शान्ति छैन । उनलाई आफ्नो जेठो छोरोका हत्याले सधैँ अशान्त पारिरहेको छ । इन्जिनियर भइसकेका उनका जेठा छोरा लोकेशकुमारको २०७४ साल चैत २ गते हत्या भएको थियो । छोराको हत्याले मर्माहत भएकी मुक्ता हत्याराको पहिचान नहुँदा पिडामुक्ता हुन पाएकी छैनन् । छोराका हत्यारालाई कानुनको कठघरामा उभ्याउन नसकेकोमा आफूलाई पिडाबोध हुने गरेको सुनाउँदै भावुक हुन्छिन् उनी ।