वर्षा र हिमपातले मुलुकभर चिसो बढ्यो, कता-कता धेरै प्रभाव पर्यो ?

  • प्रकाशित मिति : २०७८ पुष १४, बुधबार
  • chhanbin.com

आज मुलुकभर मौसम बदली भई अधिकांश ठाउँमा पानी परेको छ । पानी परेसँगै देशका उच्च पहाडी र हिमाली भेगमा मङ्गलबार रातिदेखि हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा पनि रातिदेखि नै पानी परेको छ भने उपत्यका आसपासका डाँडाहरूमा हिमपात भएको छ । विभिन्न स्थानमा हिमपातले जनजीवन कष्टकर बनेको छ । ठाउँठाउँमा सडक अवरुद्ध समेत भएका हुँदा स्थानीयवासी तथा यात्रुहरु मर्कामा परेका हुन् । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्का वर्षा र उच्च हिमाली तथा पहाडी भेगमा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावती तथा परामर्श जारी गर्दै देशभर चिसो बढ्ने क्रममा रहेकाले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । मौसमी प्रणालीका कारण पर्वतारोहण,हवाई÷यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । महाशाखाको पछिल्लो विवरणमा काठमाडौँको तापक्रम न्यूनतम तीन दशमलव छ र अधिकतम तापक्रम १५ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

हिमपातका कारण बझाङ जिल्लाको टेलिफोन सेवा आंशिक रुपमा प्रभावित भएको छ । सौर्य ऊर्जामा निर्भर बझाङका टेलिकम टावरमा सौर्य प्रणाली चार्ज नहुँदा नेपाल टेलिकमको सेवा पनि आंशिक रुपमा प्रभावित भएको छ ।

शनिबारदेखि नै बेला–बेलामा नेटर्वकले काम नगर्ने समस्या देखिएको बुङल नगरपालिका–१० देउलीकोटका मोहन बोहराले बताउनुभयो । घाम नलाग्दा पहाडी जिल्लाका एफएफ रेडियोको प्रसारण सेवा पनि प्रभावित भएको छ । रिले स्टेशनमा विद्युत् सेवा नहुँदा सौर्य ऊर्जाका भरमा प्रसारण भइरहेका एफएफको रिले स्टेशनमा हिमपात हुँदा प्रसारण सेवा प्रभावित भएको छ ।

मनाङको माथिल्लो भेगमा पुस ११ गतेदेखि हल्का हिमपात सुरु भएपछि जनजीवन कष्टकार बन्दै आएको छ । हिमपात पर्न थालेपछि केही स्थानीयवासी जिल्ला बाहिरा हिँडेका छन् । मनाङको माथिल्लो भेग थोराङ्ला, तिलिचो बेस क्याम्प र नारफुलगायतका ठाउँमा ११ गते देखिनै हिमपात सुरु भए पनि तल्लो भेग चामे सदरमुकाम आसपासमा भने १२ गतेबाट हिमपात सुरु भएको हो ।

“अहिले जिल्लाको सदरमुकामलगायत तल्लो भेगमासमेत बाक्लो हिमपात भइरहेको छ । मानिस हिँडडुल गर्न कठिन भएको छ । सवारी आवगमनसमेत ठप्प भएको छ । अझै तीन दिन हिमपात हुने मौसम पूर्वानुमान शाखाको अनुमान छ । जिल्लाको माथिल्लो भेगमा अहिले दुई फिटसम्म हिउँ जमेको छ । “पर्यटकलगायत सर्वसाधरणलाई हिमपातको समयमा सतर्क हुन अनुरोध गरिरहेका छौ”, प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले भने।