बिर्सनु भो कि ? यी ५ कम्पनीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन, कुन कस्तो ?

  • प्रकाशित मिति : २०७८ पुष १४, बुधबार
  • chhanbin.com

नेप्सेमा सूचीकृत ५ कम्पनीको लाभांश पाउन सेयर किन्ने आज (पुस १४ गते) अन्तिम दिन रहेको छ । चिलिमे जलविद्युत् कम्पनी, समिट लघुवित्त वित्तीय संस्था, मञ्जुश्री फाइनान्स, इन्फिनीटी लघुवित्त वित्तीय संस्था र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्टले घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

पाँचै कम्पनीले साधरणसभा प्रयोजनका लागि भोलि (पुस १५ गते) बुकक्लोज मिति तोकेका छन् । तसर्थ, आजसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

चिलिमे जलविद्युत्ले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ७.५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले पुस २३ गते वार्षिक साधरण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय कपनमार्ग महाराजगञ्ज, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

त्यसैगरी, मञ्जुश्री फाइनान्सले गत वर्षको नाफाबाट घोषणा गरेको ४० प्रतिशत बोनश सेयर र ६ प्रतिशत नगद गरी कुल ४६ प्रतिशत लाभांश पारित गर्न पुस २९ गते वार्षिक साधरण सभा बोलाएको छ । फाइनान्सको सभा कम्पनीको नयाँबानेश्व्र कार्यालय, काठमाडौंमा हुनेछ ।

त्यस्तै, समिट लघुवित्त वित्तीय संस्थाले लाभांश पारित गर्ने मुख्य एजेन्डासहित पुस २४ गते वार्षिक साधरण सभा बोलाएको छ । लघुवित्तले आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट प्रस्ताव गरेको २५.२८५ प्रतिशत लाभांश पारित गर्न आँबुखैरेनी रेष्टुरेण्ट एण्ड पार्टी प्यालेस आँबुखैरेनी ३ तनहुँमा साधरण सभा बोलाएको हो ।

त्यसैगरी, इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट घोषणा गरेको २७.७० प्रतिशत बोनश सेयर र १.४६ प्रतिशत नगद गरी कुल २९.१६ प्रतिशत लाभांश पारित गर्न पुस २७ गते वार्षिक साधरण सभा बोलाएको छ । प्रस्तावित लाभांश पारित गर्न लघुवित्तको सभा पुस २७ गते होटल द नारायणी, गैंडाकोट, नवलपरासीमा हुनेछ ।

त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्टले गत वर्षको नाफाबाट घोषणा गरेको ५.२६ प्रतिशत लाभांश पारित गर्न पुस २९ गते वार्षिक साधरण सभा बोलाएको छ । पाँच वटै कम्पनीको प्रस्तावित लाभांश साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।