प्रज्ञा प्रतिष्ठानमा प्रचण्डको प्रतिवेदनमाथिको झारफुक शुरु, क-कसले बजाए ढ्यांग्रो ?

  • प्रकाशित मिति : २०७८ पुष १४, बुधबार
  • chhanbin.com

माओवादीको आठौं महाधिवेशनको तेस्रो दिन अध्यक्ष पुष्पकमल दाहालको प्रतिवेदनमाथि २५ वटा समूहको निष्कर्ष सुनाइँदै छ । महाधिवेशनस्थल प्रज्ञा प्रतिष्ठानमा दिउँसो एक बजेदेखि सुरु हुने बन्द सत्रमा २५ वटा समूहका नेताहरुले आफ्ना निष्कर्ष पेस गर्नेछन् ।

अध्यक्ष दाहालले सोमबार ‘एक्काइसौं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस गरेका थिए । प्रतिवेदन छलफलका लागि महाधिवेशनमा सहभागी प्रतिनिधिहरुको २५ वटा समूह बनेको थियो । समूहले मंगलबार दिनभरि र बुधबार बिहान निष्कर्ष तयार पारेका छन् । उक्त निष्कर्ष सबै प्रतिनिधि सहभागी बन्द सत्रमा सुनाउन लागिएको हो ।

२५ वटै समूहले पार्टीको आगामी कार्यदिशालाई लिएर अध्यक्षले ठोस कार्यदिशा तय नगरेको भन्दै सच्याउन लगाउने बताएका छन् । पार्टीको अबको राजनीति, संगठन कस्तो हुने भन्नेबारे दाहालको दस्तावेजले स्पष्ट नपारेको उनीहरुको निष्कर्ष छ ।

एमसीसी परियोजना लगायत अन्य शीर्षकमा भने समूहको मिश्रित निष्कर्ष आएको छ । कोहीले एमसीसी पारित हुनुपर्ने, कोहीले यो संशोधनसहित पारित गर्नुपर्ने र कोहीले एमसीसी पारित गर्नै नहुने निष्कर्ष निकालेका छन् ।