जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

  • प्रकाशित मिति : २०७८ पुष १३, मंगलवार
  • chhanbin.com

रौतहटमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। सदरमुकाम गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर ०५ पीए ६९५३ नम्बरको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुनील मल्लले जानकारी दिए।

९ जना रहेको जिपमा सवार ४ जना घाइते छन्। मल्लका अनुसार गरुडा नगरपालिकाको जयनगरमा बेलुकी करिब सवा चार बजे तिर दुर्घटना भएको हो। जिप अनियन्त्रित भई सडकबाट झन्ड २० फिट तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि गम्भीर घाइते ९ जनालाई नै विभिन्न अस्पतालमा उपचारका लागि लगिएको थियो। उपचारका क्रममा नै ५ जनाको मृत्यु भएको हो।दुर्घटनामा मृत्यु हुने र घाइते हुने सबैको अहिलेसम्म सनाखत हुन सकेको छैन। मृतक र घाइते सबै भारतीय पुरुष नागरिक रहेको मल्लले बताए।