संसद्को शिक्षा तथा स्वास्थ्य समितिले बालविकास शिक्षकको बढेको तलब तत्काल उपलब्ध गराउन सरकारलाई निर्देशन दिए पनि जनकपुरधाम उपमहानगरपालिकाले त्यसलाई कार्यान्वयन गरेको छैन ।
सरकारले बालविकास शिक्षकको तलब बढाएर मासिक १५ हजार पुर्याए पनि जनकपुरधाम उपमहानगरले बढेअनुसारको रकम नदिँदा शिक्षक तथा विद्यालय कर्मचारी समस्यामा परेका छन् । जनकपुरधाम उपमहानगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत बालविकास शिक्षक तथा विद्यालय कर्मचारीहरू तलबको माग गर्दै तीन दिनदेखि उपमहानगरको कार्यालयअगाडि धर्ना दिएका छन् ।
उपमहानगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत बालविकास शिक्षक तथा विद्यालय कर्मचारीले तोकिएको पारिश्रमिक उपलब्ध गराउन उपमहानगरसँग माग गरे पनि नगरप्रमुख लालकिशोर साहले सुनुवाइ नगरेपछि उनीहरू धर्नामा बसेका हुन् ।
संघीय सरकारले गत जेठ महिनामा ल्याएको बजेटमार्फत् गत साउन महिनादेखि लागू हुनेगरी बालविकास शिक्षक र विद्यालय कर्मचारीको तलब वृद्धि गर्ने घोषणा गरेको थियो । सरकारको उक्त निर्णयअनुसार धनुषाकै गणेशमान चारनाथ नगरपालिका, सबैला नगरपालिका, धनुषाधाम नगरपालिका, लक्ष्मीनियाँ गाउँपालिकालगायत अधिकांश स्थानीय तहले तलब वितरण गरिसकेका छन् ।
तर, जनकपुरधाम उपमहानगरपालिकाले भने तोकिएको तलब उपलब्ध गराउन आनाकानी गरेपछि आन्दोलनबाहेक अर्को कुनै विकल्प नरहेको बालविकास शिक्षक संघर्ष समितिका संयोजक रामहृदय यादवले बताए । बालविकासका शिक्षकले मासिक ६ हजार रुपैयाँमा चित्त बुझाउनु पर्ने अवस्थाको अन्त्य हुनुपर्ने र सरकारी तहबाट भएको यो विभेदलाई यथाशीघ्र सच्याउनु पर्ने आफूहरूको माग रहेको यादवले बताए ।
बालविकास शिक्षक संघर्ष समितिका सहसंयोजक संजु यादवले लेखापालको मासिक तलव १८ हजार ५ सय र बालविकास शिक्षक तथा कार्यालय सहयोगीको तलब १५ हजार हुनुपर्ने माग गरेकी छन् । उनले आफूहरूको माग पूरा नगरिए चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रमहरू अगाडि बढाउने चेतावनी समेत दिएकी छन् ।
जनकपुरधाम उपमहानगरपालिकाभित्रका ५१ वटा सामुदायिक विद्यालयमा १५१ जना बालविकास शिक्षक तथा विद्यालय कर्मचारीहरू कार्यरत छन् । यता सरकारले भने स्थानीय निकायलाई बढेको तलब दिन दबाब दिएको छ। आगामी आर्थिक बर्ष देखि लागु हुने गरि बालविकास शिक्षककै खातामा तलब जम्मा गराउने गरि कानुन नै बनाउने भएको छ। अर्थ मन्त्रालय, शिक्षा मन्त्रालय, संघिय मामिला मत्रालय र कानून मन्त्रालय मिलेर मस्यौदा बनाउन लागिपरेको बुझिएको छ।