पाँच महिनामा नेपाल प्रहरीका ११ सय ४५ जना कारबाहीमा परे, कुन पदका कतिलाई सेकियो ?

  • प्रकाशित मिति : २०७८ पुष १२, सोमबार
  • chhanbin.com

पछिल्लो पाँच महिनामा नेपाल प्रहरीका ११ सय ४५ जना कारबाहीमा परेका छन् । आचारणविपरीतको गतिविधिमा संलग्न प्रहरीमाथि कारबाही भएको हो । कारबाहीमा पर्नेहरुमा तीन एसपी, चार डिएसपी, १२ इन्सपेक्टर, ४६ सई, ८६ असई, तीन सय ५ हवल्दार, ६ सय ७५ जवान र १४ जना कार्यालय सहयोगी छन् ।

सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको हो । गत वर्ष यो अवधिमा नौ सय ४४ जनामाथि कारबाही भएकोमा यो वर्ष बढेको प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरले बताए । प्रहरीलाई थप व्यवसायिक बनाउने क्रममा कारबाही र पुरस्कार बढेको उनको भनाई छ ।

यो अवधिमा एक हजार नौ सय ८० जना प्रहरी पुरस्कृत भएका छन् । जमा एक डिआइजी, ६ एसएसपी, २१ एसपी, ७७ डिएसपी र एक सय ६४ इन्सपेक्टर छन् । त्यस्तै पछिल्लो पाँच महिनाको अवधिमा जघन्य अपराध घटेको तथा राजश्व संकलन बढेको विवरण प्रहरीले सार्वजनिक गरेको छ ।