‘ए’ डिभिजन लिगमा सातदोबाटोलाई जावलाखेलले जमायो हैकम, निकाल्यो जित

  • प्रकाशित मिति : २०७८ पुष १२, सोमबार
  • chhanbin.com

नवप्रवेशी सातदोबाटो युथ क्लबमाथि सहज जित निकाल्दै जावलाखेल युथ क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो जित दर्ज गरेको छ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा जावलाखेल युथ क्लबले सातादेबाटो क्लबलाई २–० गोल अन्तरले हराउँदै जारी लिगमा दोस्रो जित निकालेको हो।

गोलरहित बराबरीमा सकिएको पहिलो हाफको खेलमा जावलाखेल युथ क्लबले उत्कृष्ट खेल देखाउँदै स्पष्ट अंक जोड्न सफल भएको हो। जावलाखेललाई जित दिलाउन विपिन कँडेल र निकोलस फर्नान्डेसले एक एक गोल गरे।

खेलको ५० औं मिनेटमा विपिनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। निकै प्रतिस्पर्धात्मक बनेको खेलको ७० औं मिनेटमा विदेशी खेलाडी निकोलसले गोल गर्दै जावलाखेललाई २–० को जित दिलाए। अघिल्ला खेलमा उत्कृष्ट प्रदर्शन गर्दै राम्रो छाप छाडेको सातदोबाटो खेलमा फर्किन प्रयास गरे पनि सफल हुन सकेन।

जितसँगै जावलाखेलले ६ खेलमा ७ अंक जोडेको छ। सातदोबाटोले ६ खेलमा ८ अंक जोडेको छ। यसँसँगै जारी लिगमा छैठौं चरणका खेल पनि सकिएका छन्। साविक बिजेता मच्छिन्द्रले १४ अंकका साथ तालिकामा शीर्षता कायम गर्दा मनाङ मस्र्याङ्दी फुटबल क्लब १३ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ। ६ खेलबाट १२ अंक बनाएको संकटा तालिकाको तेस्रो स्थानमा अटाउँदा आर्मी १० अंकका साथ तालिकाको चौथो स्थानमा छ। लिगमा साताै‌ चरणका खेल १६ गतेबाट हुनेछन्।