सेयर बजारमा उच्च अंकले घट्यो, आज धेरै मूल्य घटेका यी हुन् १५ कम्पनी

  • प्रकाशित मिति : २०७८ पुष १२, सोमबार
  • chhanbin.com

सेयर बजारमा उच्च अंकको करेक्शन आएको छ । पछिल्लो ४ दिनमै २३० अंकले बढेको बजारमा आज प्रफिट बुक गर्ने हाबी हुँदा दोहोरो अंकको करेक्शन आएको हो । सूचकमा गिरावट आए पनि कारोबार रकममा भने बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ४३ करोडले बढेर साढे ५ अर्ब नाघेको छ ।

सोमबार सेयर बजार मापक सूचक नेप्से ६९.७७ अंकले घटेर २५२१.६५ विन्दुमा आइपुगेको छ । आज २३८ कम्पनीको ५ अर्ब ६० करोड ७४ लाख ३९ हजार ६७१ रुपैयाँ बराबरको १ करोड २ लाख ९२ हजार २२६ कित्ता सेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा राताम्मे भएको छ । निर्जीवन बीमा समूह सबैभन्दा धेरै ५.१५ प्रतिशतले घटेको छ । त्यस्तै, जीवन बीमा समूह पनि ४.६२ प्रतिशतले घटेको छ ।

आज कारोबार भएका २३८ कम्पनीमध्ये जम्मा २७ कम्पनीको सेयर मूल्य बढेको छ भने २०० कम्पनीको घटेको छ । ११ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।आज नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ३० करोड बढीको सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्ट २६ अर्ब र नेपाल लाइफ झन्डै २५ करोडको कारोबार सहित धेरै कारोबार हुने शीर्ष तीन कम्पनीमा रहे ।

उच्च अंकले घटेको बजारमा पनि आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । गोर्खा फाइनान्स र मध्यभोटेकोशी जलविद्युत् कम्पनीको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

घट्दो बजारमा आज जोशी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै ८.५४ प्रतिशत गुमाएका छन् । त्यसैगरी, घलेम्दी हाइड्रो ८.२१, सानिमा जनरल र जानकी फाइनान्स ७.१७, गुडविल फाइनान्स, पाँचथर पावर, नेपाल फाइनान्स, नेशनल हाइड्रो, युनाइटेड इदी मार्दी, शिवश्री, हाइड्रो, नेपाल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, मल्टिप्रपोज फाइनान्स, आँखुखोला र एभरेष्ट इन्स्योरेन्सको मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।