उपलब्धीहरुमाथि प्रतिगामी हमला बढेर गएको प्रचण्डले गरे ठहर, रोक्न कसको गर्दैछन् भर ?

  • प्रकाशित मिति : २०७८ पुष ११, आईतवार
  • chhanbin.com

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले लामो सशस्त्र एवं शान्तिपूर्ण र बदलिदानपूर्ण आन्दोलनबाट प्राप्त गरेको उपलब्धीहरुमाथि प्रतिगामी हमला बढेर गएको दावी गरेको छन् ।

अध्यक्ष प्रचण्डले आठौँ महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेशनमा यस्तो दावी गरेका हुन् । विभिन्न सात वटा शीर्षकमा तयार पारिएको अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवदेनमा भनिएको छ, ‘आज देशको समग्र राजनीतिक परिस्थिति निकै तरल र चुनौतीपूर्ण छ । जनताले लामो सशस्त्र एवं शान्तिपूर्ण र बलिदानपूर्ण आन्दोलनबाट प्राप्त उपलब्धीहरुमाथि प्रतिगामी हमला बढेर गएको छ ।’

प्रचण्डले आफ्नो प्रतिवेदनमा समानुपातिक र समावेशी चरित्रको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान उल्ट्याउन निरंकुश तत्वहरुले टाउको उठाइरहेको र विभिन्न नाम र रुपका दक्षिणपन्थी शक्तिहरुका बीचमा मोर्चाबन्दी बढ्दो रहेको बताएका छन् ‘देशको आन्तरिक राजनीतिक तरलता र दक्षिणपन्थी मोर्चाबन्दीलाई विदेशी प्रतिक्रियावादी शक्तिहरुले मलजल गर्दै लोकतान्त्रिक प्रक्रिया र राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप बढाएर लगेका छन्’ अध्यक्ष प्रचण्डको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिगामी र निरंकुश प्रवृत्ति र तत्वहरुविरुद्ध संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताका पक्षधर राजनीतिक शक्तिहरुबीच पनि नयाँ प्रकारको ध्रुवीकरण र मोर्चाबन्दी अगाडि बढ्दै गएको उल्लेख गर्दै आफ्नो प्रतिवेदनमा प्रचण्डले भनेका छन्, ‘वाम लोकतान्त्रिक मोर्चाबन्दी र व्यापक जनदबाबका कारण तात्कालिक र कार्यनीतिक रुपमा देशी विदेशी प्रतिक्रियावादीहरुको प्रतिक्रान्तिकारी षडयन्त्रको योजना असफल भएको हो । तर, रणनैतिकरुपमा प्रतिक्रान्तिकारी षड्यन्त्र गर्ने प्रयत्न भने रोकिएको छैन ।’

उनले नेपाली समाजमा विद्यमान वर्ग संघर्षकै राजनैतिक अभिव्यक्ति भएको उल्लेख गर्दै जनयुद्ध र जनआन्दोलनबाट पराजित सामन्ती तत्वहरु, दलाल नोकरशाही पुँजीपति र तिनका पृष्ठपोषक राजनीतिक दलहरु एकातिर एवं मजदुर किसान, राष्ट्रिय पुँजीपति वर्गसम्म तथा पहिचान र अधिकारका पक्षधर सम्पूर्ण राजनीतिक शक्ति, जाति समुदायदेखि सम्पूर्ण देशभक्त बुद्धिजीवीसम्म अर्कोतिर ध्रुवीकृत बनेर संघर्ष चलिरहेको जनाएका छन् ।

प्रतिवेदनमा भनेका छन्, ‘महान जनयुद्ध र ऐतिहासिक जनआन्दोलनको प्रमुख नेतृत्वकर्ता एवं संविधानसभा, समावेशी समानुपातिक प्रतिनिधि प्रणालीसहितको धर्म निरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्रको प्रमुख बाहक शक्ति हुनुको नाताले यो परिवर्तनको रक्षा, विकास र परिमार्जनमा पनि हाम्रो पार्टीको प्रमुख जिम्मेवारी रहेको छ ।’

नेकपा माओवादीमा केही वर्षदेखि देखा परेको वैचारिक राजनीतिक अस्पष्टता संगठनात्मक विभाजन एवं गुटवादी अराजकताका कारण दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिहरुले टाउको उठाउने अवसर पाएको उनको निक्यौल छ ।

विचारधारात्मक र राजनीतिक कार्यदिशामा विकास र स्पष्टताको प्रश्नलाई राष्ट्रिय मात्रै नभएर अन्तर्राष्ट्रिय आयामबाट पनि हेर्नुपर्ने बताउँदै आठौँ महाधिवेशनले मुख्य गरी पार्टीको विचार र संश्लेषणको ऐतिहासिक कार्यभार पूरा गर्ने प्रचण्डले विश्वास व्यक्त गरेका छन् ।