नेप्सेमा सूचीकृत यी तीन कम्पनीको लाभांश पाउन सेयर किन्ने आज (पुस ११ गते) अन्तिम दिन

  • प्रकाशित मिति : २०७८ पुष ११, आईतवार
  • chhanbin.com

नेप्सेमा सूचीकृत तीन कम्पनीको लाभांश पाउन सेयर किन्ने आज (पुस ११ गते) अन्तिम दिन रहेको छ । विजया लघुवित्त, एनसीसी बैंक र महुली लघुवित्तले घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

तीनै कम्पनीले साधरणसभा प्रयोजनका लागि भोलि (पुस १२ गते) बुकक्लोज मिति तोकेका छन् । तसर्थ, आजसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

विजया लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २०.०३१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५८ प्रतिशत नगद गरी कुल २१.०८५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न लघुवित्तले पुस २४ गते गैंडाकोट रिसोर्ट नवलपरासीमा नवौं वार्षिक साधारण सभा बोलाएको छ ।

त्यसैगरी, महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट घोषणा गरेको २६ प्रतिशत बोनस सेयर लाभांश पारित गर्न पुस २४ गते नवौं वार्षिक साधरण सभा बोलाएको छ । लघुवित्तको सभा केन्द्रीय कार्यालय सप्तरीमा हुनेछ ।

त्यस्तै, एनसीसी बैंकले लाभांश पारित गर्ने मुख्य एजेन्डासहित पुस २९ गते २४ औं वार्षिक साधरण सभा बोलाएको छ । बैंकले आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट प्रस्ताव गरेको ८.४२ प्रतिशत लाभांश पारित गर्न होटल हार्दिक, बागबजार, काठमाडौंमा सभा बोलाएको हो ।
तीनै कम्पनीको प्रस्तावित लाभांश साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।