राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत गरेपछि माओवादीले बोलायो अतिथी, को-को जाँदैछन् ?

  • प्रकाशित मिति : २०७८ पुष ११, आईतवार
  • chhanbin.com

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को ८औं महाधिवेशनमा प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओली बाहेक अन्य दलका शीर्ष नेताहरु सहभागी हुने भएका छन् । पहिलो राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत गरिएपछि माओवादीले अतिथीहरु बोलाउने निर्णय गरेको थियो ।

महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासहित सत्ता गठबन्धन नेकपा(एस)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी हुनेछन् । ओलीलाई अध्यक्ष पुष्पकमल दाहालले टेलिफोन गरेर महाधिवेशनमा निम्ता दिएका थिए । तर ओली झापामा छन् । उनले पार्टीका अन्य नेतालाई पठाउने जानकारी दिएका थिए । एमालेकाे तर्फबाट महासचिव शंकर पोखरेल सहभागी हुने संभावना छ । प्रचण्डले पनि एमाले महाधिवेशनमा आफु नगएर लिलामणी पोखरेललाई पठाएका थिए।

प्रधानमन्त्री पनि सहभागी हुने भएपछि महाधिवेशनको सुरक्षा योजना परिवर्तन गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार यसअघि प्रहरी उपरीक्षकको नेतृत्वमा ३६४ प्रहरी सम्मेलनको सुरक्षामा परिचालन गर्ने गरी सुरक्षा रणनीति बनाइएकामा त्यसलाई परिवर्तन गरी झण्डै ४५० को हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिने जनाएको छ ।