माओवादीको महाधिवेशनमा १ हजार ६३१ प्रतिनिधि सहभागी हुने लाग्यो टुंगो

  • प्रकाशित मिति : २०७८ पुष ११, आईतवार
  • chhanbin.com

माओवादी केन्द्रको आठौं महाधिवेशनमा कुल एक हजार ६३१ जना सहभागी हुने भएका छन्। नियमित प्रक्रियाबाट छानिएका एक हजार ४८३ र मनोनीत १४८ गरी कूल एक हजार ६३१ को सहभागिता रहने माओवादीले जनाएको छ। महाधिवेशन माओवादी अध्यक्ष पुष्पकमल दाहालले अपराह्न प्रज्ञा प्रतिष्ठानको हलमा गर्ने कार्यक्रम छ।।

माओवादीले यसभन्दा अगाडि पाँच प्रतिशत प्रतिनिधिमात्रै मनोनयन गर्ने बताएको थियो। यसलाई शुक्रबारको बैठकले १० प्रतिशत बनाएको छ। आयोजक समितिबाट १७९ सहभागी हुनेछन्।

यस्तै सल्लाहकारबाट १४९, ज्येष्ठ कम्युनिस्ट मञ्चबाट १२५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७ र प्रदेश प्रतिनिधिबाट ८०३ राष्ट्रिय सम्मेलनमा प्रतिनिधि चयन भएका छन्। प्रदेश १ बाट ९६, प्रदेश २ बाट १०६, बागमतीबाट १२८, गण्डकीबाट ७४, लुम्बिनीबाट १०५, कर्णालीबाट ८७, सुदूरपश्चिमबाट ८४, प्रवासबाट ३४, विशेषबाट ४२ र सम्पर्क समन्वय प्रदेशबाट ८३ जना सहभागी हुने व्यवस्था गरिएको छ।

माओवादीले पहिलोपटक केन्द्रीय समितिमा महिला, दलित, जनजाति, आदिवासी समुदायलाई विशेष भूमिकासहित जिम्मेवारी दिने भएको छ। महिलालाई अनिवार्यरूपमा ३५ प्रतिशत बराबरको हिस्सा छुट्याइएको छ।

माओवादीले गत मङ्सिर ४ गतेदेखि पार्टीको वडा सम्मेलन गरेको थियो। त्यसका लागि पार्टीको तर्फबाट विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा निर्वाचन आयोग सक्रिय थियो। आयोगका प्रतिनिधिसहितको उपस्थितिमा माओवादीले ११ मङ्सिरमा देशभरका पालिका सम्मेलन आयोजना गरको थियो। प्रदेश २ का केही पालिकामा बाहेक झण्डै ९८ प्रतिशत पालिकामा नयाँ नेतृत्व चयन भएको छ। गत मङ्सिर २५ गते प्रदेश सम्मेलनको आयोजना गरिएको थियो।

जनता, नेता तथा कार्यकर्ता तहको आग्रह र उत्साहका कारण राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। शुक्रबारको स्थायी समितिको बैठकले पार्टीको पदाधिकारी १५ सदस्यीय बनाउने प्रस्ताव गरेको छ। अध्यक्ष प्रचण्डको विकल्पमा कुनै पनि नेताले दाबी पेस गरिसकेको अवस्था छैन। पार्टीका महासचिवमा भने औपचारिक, अनौपचारिकरूपमा नेताले दाबी गरिरहेका छन्। सङ्गठन विभाग प्रमुख रहेका जनार्दन शर्मा, केन्द्रीय कार्यालयका इञ्चार्जसमेत रहेका वर्षमान पुनले महासचिवमा दाबी गरेका छन्।

माओवादीले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय शनिबारको स्थायी समितिको बैठकले गरेको थियो। जनता, नेता तथा कार्यकर्ता तहको आग्रह र उत्साहका कारण राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

सम्मेलनमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन, विधानलगायतका दस्तावेज पेस हुनेछन्। ती प्रतिवेदनमाथि विभिन्न २० समूह बनाएर छलफल गर्ने कार्यक्रम तयार भएको छ। माओवादीले प्रज्ञा प्रतिष्ठानका सबै हल र पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सामूहिक छलफलको व्यवस्था मिलाएको छ। उद्घाटनसत्र सकिएलगत्तै राजनीतिक प्रतिवेदन, विधानमाथि छलफल सुरु हुनेछ। त्यस्तै नेतृत्व चयनको कार्यक्रमसमेत छ।